नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।
एमालेले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन शनिबार केन्द्रीय सचिवालय बैठक बोलाएको हाे । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदहरूको नामबारे सुझाब मागेपछि एमालेले बैठक बोलाएको हो ।
समानुपातिकतर्फ पहिलो लोकप्रिय मत पाएको एमालेले संघमा ३४ जना सांसद निर्वाचित गराउनेछ । त्यस्तै, एमालेले सातमध्ये ६ प्रदेशमा पहिलो लोकिप्रय मत पाएको छ ।
आयोगले बिहीबार तीन दिनभित्र संघ र प्रदेशमा निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावलीमाथि सुझाब पठाउन पत्राचार गरेको थियो । शुक्रबार डाकिएको सचिवालय बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हाे ।
बैठकमा एमालेले आमनिर्वाचनको प्रारम्भिक समीक्षासमेत गर्ने भएको छ । चुनावी परिणामअनुसार एमालेले संघमा प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ सहित ७८ सिट प्राप्त गरेको छ । त्यस्तै, प्रदेश १ मा प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १५ सहित ४०, मधेस प्रदेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा आठसहित २३, बागमती प्रदेशमा प्रत्यक्षमा १३ र समानुपातिकमा १४ सहित २७, गण्डकीमा प्रत्यक्षमा १२ र समानुपातिकमा १० सहित २२, लुम्बिनीमा प्रत्यक्षमा १८ र समानुपातिकमा ११ सहित २९, कर्णालीमा प्रत्यक्षमा पाँच र समानुपातिकमा पाँचसहित १० तथा सुदूरपश्चिममा प्रत्यक्षमा तीन र समानुपातिकमा सातसहित १० सिट प्राप्त गरेको छ ।