Skip This
हेटौँडा सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँ घट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हेटौँडा सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँ घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:२५:oo

निरन्तर घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्टले उत्पादनको बिक्री बढाउन भन्दै मूल्य घटाएको छ । उद्योगले प्रतिबोरा सिमेन्टमा ४० रुपैयाँले मूल्य घटाएको हो । 

उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले निजी सिमेन्ट उद्योगहरूसँग प्रतिस्पर्धाका लागि गत आइतबारबाट प्रतिबोरा ४० रुपैयाँका दरले मूल्य घटाएको जानकारी दिए । निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्यको अनुपातमा हेटौँडा सिमेन्टको मूल्य बढी भएकाले बिक्री बढाउन मूल्य घटाइएको महाप्रबन्धक पाण्डेको भनाइ छ । 

उद्योगले सात सय ४७ रुपैयाँ प्रतिबोरा बिक्री गर्दै आएको सिमेन्टको मूल्य ४० रुपैयाँ घटाएर बिक्री थालेको हो । करिब नौ सय रुपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने गरेको भए पनि निजी उद्योगहरूसँग प्रतिस्पर्धाका लागि पहिले नै प्रतिबोरा सात सय ४७ रुपैयाँमा बिक्री गर्दै आएको उद्योग प्रशासनको दाबी छ ।

सिमेन्टको मूल्य घटाइएको भए पनि सोचेअनुरूप सिमेन्ट बिक्री भने नभएको महाप्रबन्धक पाण्डेले बताए । ‘उद्योगमा करिब दुई लाख बोरा सिमेन्ट मौज्दात छ । सिमेन्ट उत्पादन गरेर मात्र नहुने बिक्री पनि गर्नुपर्ने भएकाले सिमेन्टको मूल्य केही घटाएका छौँ, तैपनि सोचेअनुरूप बिक्री भने बढेको छैन,’ महाप्रबन्धक पाण्डेले भने ।

आर्थिक संकट झेलिरहेको उद्योगबाट उत्पादित सिमेन्टको मौज्दात राख्नुभन्दा बिक्री बढाउन सके आर्थिक गतिविधि बढ्ने महाप्रबन्धक पाण्डेले बताए । सोहीअनुरूप सिमेन्टको मूल्य केही समायोजन गरेको उनको भनाइ छ ।

ad
ad