१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Sunday, 29 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ मङ्सिर २० मंगलबार १o:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किबी बेचेरै २० लाख आम्दानी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १o:४८:oo

भोटेकोसी गाउँपालिका– १ सेमुङका अर्जुनबहादुर सापकोटाले किबी खेतीबाट राम्रो आम्दानी निकालेका छन् । दुई सय ५० रोपनी जमिनमा लगाएको किबी बेचेर यो वर्ष उनले २० लाख कमाएका हुन् । 

लामो समयदेखि तातोपानीमा व्यापार गर्दै आएका सापकोटा भूकम्पले सीमानाका बन्द भएपछि कृषि पेसामा लागेका थिए । ०७४ मा सुरु गरिएको किबी खेतीले यो वर्षदेखि ठूलो परिमाणमा उत्पादन दिन थालेको हो । उनले खेत, बारी र पाखामा दुई हजार ६ सय बोट किबी लगाएका छन् । 

‘यो वर्ष किबी राम्रो फल्यो,’ सापकोटाले भने । उनले करिब सात हजार किलो किबी बेचे । किबीका दाना ठूला भए पनि बजार नपाउँदा प्रतिकेजी तीन सय रुपैयाँमा बेच्नुपरेको उनले सुनाए । लिस्तीको सेमुङ विकट लेकाली भूमि हो । यहाँका स्थानीय किबी, स्याउ खेती र पशुपालनमा लागेका छन् । तातोपानी नाकामा भारी बोकेर जीवन निर्वाह गर्दै आएका सीमावासी विकल्प खोज्दै कृषि पेसामा लागेका हुन् । 

सापकोटाले गाउँलेको जमिन लिजमा लिएर किबी रोपेका छन् । दैनिक पाँचजनाले रोजगारी पनि पाएका छन् । यसका अलावा वेलावेलामा किबी खेतीमा गोडमेल र सरसफाइको काम गर्दा स्थानीयले थप रोजगारी पाउँछन् । उनले हालसम्म दुई करोड लगानी गरेका छन् । भोटेकोसी गाउँपालिका र अन्य सरकारी निकायबाट २० लाख अनुदान पनि प्राप्त भएको छ । किबी, स्याउ र पशुपालन गरेर स्वरोजगार सिर्जना गर्ने लक्ष्य राखेका सापकोटाले थप सहयोगका लागि विभिन्न सरकारी कार्यालयमा अनुरोध गरेका छन् । कृषिलाई जीवन सुधारको पेसा बनाउने हो भने सरकारले पर्याप्त बजेट दिनुपर्ने उनको भनाइ छ ।

‘झोलेपोके व्यापार र भारी बोकेर घरबार चलाउँदै आएका गाउँले दाजुभाइलाई स्वरोजगार बनाउन कृषि पेसालाई थप विस्तार गरेर आधुनिक बनाउँछु,’ उनले भने । अब एक हजार पाँच सय किबीको बिरुवा थप्ने उनको योजना छ । छिमेकका बाँझो जमिन लिजमा लिएर उनले आलु र लसुन खेती पनि गरेका छन् । किबी, आलु र लसुनलाई ब्रान्डिङ गरेर बेच्ने उनले बताए ।

सेमुङमा उत्पादित किबी निकै स्वादिलो हुन्छ । सापकोटाले सार्वजनिक रूपमा आयोजना हुने विभिन्न कार्यक्रमलाई निःशुल्क किबी दिएर सहयोग पनि गर्दै आएका छन् ।