Skip This
नगर प्रहरीलाई कुट्नेमाथि नेपाल प्रहरीले अघि बढाएन कारबाही
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Friday, 26 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ मङ्सिर २० मंगलबार o८:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नगर प्रहरीलाई कुट्नेमाथि नेपाल प्रहरीले अघि बढाएन कारबाही

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार o८:१२:oo

- महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्– खुलेआम हिँडेकालाई पनि नेपाल प्रहरीले समातेन  
- परिसर प्रवक्ता एसपी दिनेश मैनाली भन्छन्– आक्रमण गर्नेलाई खोजिरहेका छौँ 

नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेविरुद्ध कारबाही माग गर्दै काठमाडौं महानगरपालिकाले दिएको किटानी जाहेरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बेवास्ता गरेको छ । आक्रमण गर्ने व्यक्तिको विवरणसहित १३ मंसिरमा जाहेरी दर्ता गरे पनि परिसरले हालसम्म पक्राउ गरेको छैन । 

नगर प्रहरीमाथि आक्रमण गर्ने आठजनाको विवरण जाहेरीमा खुलाएको छ । तर, आक्रमण गर्नेविरुद्ध नेपाल प्रहरीले कारबाही कदम अघि नबढाएको महानगरको आरोप छ । महानगरका प्रवक्ता नवीन मानन्धरले नेपाल प्रहरीले नगर प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको बताए । ‘हामीले तत्काल कारबाही हुनुपर्छ भनेर माग गरेका थियौँ,’ उनले भने, ‘तर, नेपाल प्रहरीले जाहेरीउपर कुनै एक्सन लिएको छैन ।’

उनका अनुसार थापाथलीस्थित सुकुमबासीले अनधिकृत रूपमा ओगटेका टहरा भत्काउन १२ मंसिरमा महानगरले नगर प्रहरी खटाइएको थियो । सोही क्रममा टहरोमा बस्दै आएका व्यक्तिहरूले नगर प्रहरीलाई ढुंगामुढा र हातपात गरेका थिए । सो क्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । आक्रमणबाट गम्भीर घाइते सर्मिला बोगटी, झरना विक र विष्णा ढुंगानाको नर्भिक अस्पतालमा उपचार जारी छ ।  

सो आक्रमणमा सहभागी राजु तामाङ, दीपकजंग कुँवर, नारायण परिश्रमी, हुकुमबहादुर लामालगायत आठविरुद्ध कारबाही माग गरिएको थियो । तर, विवरण खुलाउँदासमेत प्रहरीले उनीहरूमाथि कारबाही अघि बढाएको छैन । 

परिसरका प्रवक्ता दिनेशराज मैनालीले जाहेरीमाथि काम गरिरहेको जानकारी दिए । उनले भने, ‘हामीकहाँ जाहेरी परेपछि अनुसन्धान भइरहेको छ, कोही पक्राउ परेका छैनन् ।’ जाहेरीमा नाम समावेश भएकामाथि जोहरी दर्तालगत्तै अनुसन्धान भइरहेको उनको दाबी छ । 

तर, काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले खुलेयाम हिँडिरहेकालाई पनि नेपाल प्रहरीले समाउन नसकेको बताए । ‘हामीले कारबाही माग गर्दै दिएको जाहेरीमा नेपाल प्रहरीले चासो दिएन,’ उनले भने, ‘खुलेयाम हिँडेकालाई फरार भनेर टारिरहेको छ ।’ 

सुकुमबासी हटाउने अभियानबाट पछि हट्यो नगर प्रहरी 
सांघातिक आक्रमणपछि सुकुमबासी हटाउने अभियानबाट काठमाडौं महानगर पछि हटेको छ । बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहपछि नगर प्रहरी अतिक्रमित संरचना हटाउन १२ मंसिरमा थापाथली क्षेत्रमा पुगेको थियो । विनासूचना आफूहरूलाई हटाउन खोजेको भन्दै टहरामा बस्दै आएकाहरू आक्रमणमा उत्रिएका थिए । संरचना हटाउन गएको नगर प्रहरी आक्रमणमा परेपछि फर्किएको थियो ।

तर, अब त्यस क्षेत्रका संरचना हटाउन नेपाल प्रहरी र अन्य निकायको साथ चाहिने महानगरका प्रवक्ता मानन्धरले बताए । ‘महानगर प्रहरीसँग ठूलो दलबल हुँदैन, यस्तो अभियानमा नेपाल प्रहरीलगायतका निकायको साथ चाहिन्छ,’ उनले भने, ‘तर, अन्य निकायले साथ दिएका छैनन् ।’ उनका अनुसार ती संरचना हटाउने विषयमा छलफल भने भइरहेको छ । तर, नगर प्रहरीमाथि आक्रमण हुने हुँदा नेपाल प्रहरीको सहयोग माग गरिएको छ ।