१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सुवास भट्ट काठमाडाैं
अनिल यादव काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जसलाई जनताले देश निर्माणको अभिभारा सुम्पिए

प्रत्यक्षतर्फका १६५ मध्ये १६२ को नतिजा आयो, समानुपातिकतर्फका ११० समेत गरी २७५ माननीयले आगामी पाँच वर्ष सत्ता र विपक्षमा रहेर देश चलाउनेछन्

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:oo:oo

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका एक सय ६५ मध्ये एक सय ६२ क्षेत्रको नतिजा आइसकेको छ । बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना जारी छ । यसबाहेक एक सय १० जना समानुपातिकतर्फबाट छानिनेछन् । दुवैतर्फका गरी दुई सय ७५ माननीयले आगामी पाँच वर्ष सत्ता र विपक्षमा रहेर देश चलाउनेछन् । निर्वाचितमध्ये करिब दुईतिहाइ पुरानै अनुहार छन्, ५७ जना भने नयाँ छन् । 

अहिलेसम्मको मतपरिणामअनुसार प्रत्यक्षतर्फ ५५ सिटमा जित हासिल गरेर कांग्रेस पहिलो दल बनेको छ । गणना भइरहेका दुई क्षेत्रमा पनि उसले अग्रता लिइरहेको छ । त्यस्तै, ४४ सिटसहित एमाले दोस्रो स्थानमा छ । १७ सिट जितेर माओवादी तेस्रो दलका रूपमा उभिएको छ, गणना भइरहेको एक क्षेत्रमा अग्रता पनि लिइरहेको छ । त्यस्तै, एकीकृत समाजवादीले १० तथा जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सात–सात स्थानमा जित हासिल गरेका छन् । लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक–एक स्थानमा विजयी भएको छ । पाँचजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म्को मतपरिणामले सात दल मात्र राष्ट्रिय पार्टी बन्ने देखिन्छ । समानुपातिकतर्फ एमाले ठूलो दल लगभग निश्चित छ । त्यस्तै, कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो बन्ने भएका छन् । यसबाहेक जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले ‘थ्रेसहोल्ड’ कटाएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको आयोगले जनाएको छ । 

प्रत्यक्षतर्फबाट संसद्मा समावेशी समानुपातिक उपस्थिति भने दयनीय छ, खसआर्यको बाहुल्य छ । सबै दलबाट गरेर महिला नौजना मात्रै निर्वाचित भएका छन् । प्रमुख दलहरूले अत्यन्त न्यून संख्यामा मात्रै महिलालाई टिकट दिएका थिए । कुल दुई हजार चार सय १२ उम्मेदवारमध्ये दुई सय २५ जना मात्र महिला थिए । अहिलेसम्म एमालेबाट जुलीकुमारी महतोे (धनुषा ३), ज्वालाकुमारी साह (बारा ३), विद्या भट्टराई (कास्की २) र भगवती चौधरी (सुनसरी ३) गरी चारजना मात्रै महिला निर्वाचित भएका छन् । मतगणना जारी रहेको स्याङ्जा २ मा एमाले सचिव पद्मा अर्याल उम्मेदवार छिन्, तर उनले अग्रता लिन सकेकी छैनन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम (काठमाडौं २) र तोसिमा कार्की (ललितपुर ३) गरी दुई महिला निर्वाचित भएका छन् । कांग्रेसबाट सीता गुरुङ (तेह्रथुम), माओवादीबाट रेखा शर्मा (दाङ २) र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ (कैलाली १) निर्वाचित भएका छन् ।

 दोलखा, स्याङ्जा २ र बाजुराको नतिजा आउन बाँकी
विवादका कारण यी तीनै क्षेत्रको मतगणना बिहीबार सुरु भएको छ । दोलखाका १० केन्द्रमा त बिहीबार नै पुनः मतदान भएको हो । प्रारम्भिक मतगणनामा तीनै क्षेत्रमा सत्तागठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । दोलखामा गठबन्धनका तर्फबाट  माओवादीका गंगा कार्की र एमालेबाट बालकृष्ण सिवाकोटी प्रतिस्पर्धामा छन् ।

उनीहरू दुवै नयाँ अनुहार हुन् । स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् । त्यस्तै, बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापा प्रतिस्पर्धामा छन् । दुवै क्षेत्रका प्रतिस्पर्धी संसद्मा नयाँ अनुहार होइनन् ।

 

 

*क्षमायाचना :
(नयाँ पत्रिकामा आज प्रकाशित ‘जसलाई जनताले देश निर्माणको अभिभारा सुम्पिए’ शीर्षकको कभर स्टोरीमा भक्तपुर १ बाट निर्वाचित नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको तस्बिर भूलवश छुटेकाले क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक)

 

 

 

 

ad
ad