१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Friday, 04 July, 2025
२o७९ मङ्सिर १४ बुधबार १९:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयको रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक

सन् २०३० सम्म अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनाउने योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १९:५o:oo

लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ। विश्वविद्यालयको १८ औँ वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको हो।

विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा स्थापित गर्ने जनाएको छ। मुलुककै एक मात्रै विशिष्टीकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृतिसहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ।

रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताए। 

अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुसरणसहितको शिक्षा प्रवर्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रमुख तीन आधार रहने उनले बताए। यी आधारभित्रै रहेर अनुसन्धान, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीति विश्वविद्यालयको रहेको बज्राचार्यले बताए।

भिजन २०३० प्लस कार्यान्वयनका सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगका नीति, अन्तर्राष्ट्रिय शिक्षासँगको स्तरमिलान, गुणस्तरीयता र अनुसन्धानमा आधारिक शिक्षालाई नीतिका रूपमा अंगीकार गरिने रणनीतिक योजनामा छ।

विश्वविद्यालयका रजिस्ट्रार डा. तीलकराम आचार्यले मुलुकको सातौँ स्तरमा रहेको विश्वविद्यालयलाई कम्तीमा तेस्रो स्थानसम्म अबको केही वर्षभित्रै पुर्‍याउने लक्ष्य राखिएको बताए। विश्वविद्यालयले यसअघि प्राज्ञिक तथा भौतिक गुरुयोजना निर्माण गरेको थियो। 

त्यो गुरुयोजनाका मूलभूत पक्षहरूलाई अंगीकार गर्दै विश्वविद्यालयले यो रणनीति बनाएको हो। विश्वविद्यालयले अबको केही समयमै तीन संकायमा १० वटा भन्दा बढी विभाग स्थापना गर्ने लक्ष्य बनाएको छ। 

रजिस्ट्रार आचार्यले रणनीति कार्यान्वयनमा दिगो आर्थिक स्रोतको सुनिश्चितता, विषयगत दक्ष जनशक्ति चुनौतीका रूपमा रहेको बताउँदै ती चुनौतीलाई चिर्दै अघि बढ्ने बताए। पछिल्लो ६ वर्षमा विश्वविद्यालयको चामत्कारिक विकास भएको भन्दै त्यसलाई निरन्तरता दिइने उनले बताए।

कार्यक्रममा बोल्दै बयोद्धकुशुम धर्म महासंघका अध्यक्ष महायोगी श्रीधर राणा रिम्पोछेले बौद्ध दर्शनको अनुयायी हुनु मात्रै नभई यसको दार्शनिक चेतना सबैमा हुनुपर्ने बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बौद्ध दर्शनको सतही जानकारी मात्रै फैलिरहेको भन्दै यसको गहिराइ बाहिर आउन नसकेको बताए। उपाध्यक्ष मैत्तेयले लुम्बिनी विकास कोषले बौद्ध दर्शन, क्षेत्र, पुरातत्वको अध्ययन अनुसन्धानमा विश्वविद्यालयसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए।

कार्यक्रममा बोल्दै धर्माेदय सभाका अध्यक्ष केशवमान शाक्यले बौद्ध विश्वविद्यालयको १०वर्षे प्रगतिले जोकोही आकर्षित हुने भन्दै विश्वविद्यालयको स्वरूपमा आएको भन्दै खुसी प्रकट गरे। कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले प्रकाशन गरेका पाँचवटा पुस्तक विमोचन गरिएको थियो। 

अनुसन्धान केन्द्रबाट धम्मपद अट्टकथा, स्वयम्भु पुराण, त्रिशिंखा, बोधी चाइनिज भाग १ र २ विमाेचन गरिएको हो। पुस्तकका विषयमा बोल्दै अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले यी पुस्तकले बौद्ध अध्ययन अनुसन्धानमा लागेका अध्येतालाई महत्वपूर्ण सहयोग गर्ने भन्दै नेपाली वाङ्मयमा बौद्ध पुस्तकको बलियो गरी उपस्थिति गराउने बताए।

नेपाली भाषामा बौद्ध ग्रन्थका पुस्तकहरू अध्ययन नहुँदा भारतीय पुस्तकमा निर्भर हुनुपर्ने बाध्यता रहेको भन्दै स्वदेशकै अनुसन्धानकर्ताबाट अनुवादित पुस्तकले बौद्ध दर्शनलाई जनतामाझ बुझाउन सजिलो हुने उनले बताए।