मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार ०८:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालेनको कामप्रति ओलीको कटाक्ष, ओलीलाई बालेनको जवाफ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार ०८:२३:००

बालेनको कामप्रति ओलीको कटाक्ष–लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन 

एमाले अध्यक्ष केपी ओलीले काठमाडौंका मेयर बालेन साहले सुकुमबासीको भावना बुझ्न नसकेको आरोप लगाएका छन् । बल प्रयोग गरेर सुकुमबासी समस्याको समाधान नहुने भन्दै ओलीले संवाद गर्न सुझाव दिएका छन् । ‘एउटा सुखसयलमा बसेको मान्छेले गरिबका भावना, पीडाहरूलाई बुझ्न कठिन छ । उन्माद मात्रै छ, त्यस्तो उन्मादले समस्या समाधान हुँदैन,’ पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ओलीले भने, ‘उनीहरू अलिक गरिब भए, त्यसकारण शत्रु घोषणा गरेर उनीहरूलाई गोली ठोक्नुपर्ने, मार्नुपर्ने, पराजित गर्नुपर्ने भन्ने कस्तो सोच हो, यसरी समस्याको समाधान हुँदैन ।’ ओलीले वार्ता र संवादमार्फत तत्काल समस्या समाधान गर्न पनि आग्रह गरे । उनले लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग नभएको बताए ।

ओलीलाई बालेनको जवाफ–कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला

काठमाडौंका मेयर बालेन साहले एमाले अध्यक्ष केपी ओलीले सुकुमबासीलाई भोट बैंकका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । ‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो,’ साहले मंगलबार साँझ फेसबुकमा लेखेका छन्, ‘किनभने, ०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुमबासी समस्या समाधान गर्न सक्नुभएन । मन्त्री र पटक–पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुमबासीले भोगेका ३२ वटा जाडो देख्नुभएन । सुकुमबासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे ।’

महानगरविरुद्ध सुकुमबासीको प्रदर्शन 

काठमाडौं महानगरको डोजर थापाथलीस्थित सुकुमबासी बस्ती पसेपछि प्रतिकारमा उत्रिएका सुकुमबासीहरूले मंगलबार पनि विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरूले मंगलबार बागदरबारस्थित महानगरको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् । 

‘भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबर्जस्ती हटाउन प्रकाशित सूचनाविरुद्ध बृहत् खबरदारी ¥याली’ नाम दिइएको विरोध प्रदर्शनका सहभागीहरू टाउकोमा कालो पट्टी बाँधेर उपस्थित भएका थिए । प्रदर्शनमा सुकुमबासीसम्बद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाको समर्थन र सहभागिता थियो । 

विरोध जारी रहँदा उनीहरूले आफूहरू वार्ता र संवादका लागि तयार रहेको बताएका छन् । ‘अहिलेसम्म हामीलाई कुनै पनि निकायबाट वार्ता र छलफलका लागि खबर आएको छैन । तर, हामीले वार्ता र संवादबाट समस्या समाधानका लागि ढोका खुला गरेका छौँ,’ संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाकी प्रवक्ता स्मिता आचार्यले भनिन् । उनका अनुसार ७७ वटै जिल्लामा भएका भूमिहीन सुकुमबासीहरूले जिल्लामै सम्बन्धित निकायलाई ज्ञापनपत्र र ध्यानाकर्षण गराउने काम गरेका छन् । सोमबारको जस्तो अवस्था आए आफूहरू प्रतिकारमा उत्रन तयार रहेकोसमेत बताइन् । उनीहरूले मंगलबार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका छन् ।

महानगर भने प्रशासन तयार भए डोजर लगाउन तयार भएको छ । बालेनका स्वकीय सचिव भूपदीप साहले प्रशासन तयार भएमा महानगर डोजर लगाउन तयार रहेको बताए । ‘बागमती सभ्यता एकीकृत विकास समिति डोजर लगाउन तयार छ । प्रशासनले पनि सहयोग गर्ने हो भने हामी पनि तयार छौँ,’ उनले भने, ‘हामी उनीहरूसँग वार्ता गर्दैनौँ । खुकुरी तेस्र्याउनेसँग कसरी वार्ता गर्ने ?’ उनले सोमबार महानगरीय प्रहरी बलमाथि आक्रमण गर्नेविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिए पनि उनीहरू खुलेआम हिँडिरहेको बताए ।

घरेलु हतियारसहित उत्रिएका थिए सुकुमबासी
महानगरपालिकाको टोली सोमबार डोजरसहित सुकुमबासी बस्तीमा पुगेपछि बस्तीका बासिन्दा घरेलु हातहतियारसहित प्रतिकारमा उत्रिएका थिए । प्रतिकारमा उत्रिएका सुकुमबासी र महानगर प्रहरी टोलीबीच झडप हुँदा ३६ जना प्रहरी घाइते भएका थिए । बागमती सभ्यता एकीकृत विकास समितिले गत २५ कात्तिकमा बागमती नदी करिडोर क्षेत्रमा बनाइएका घरटहरा १० दिनभित्र हटाउन चेतावनी दिएको थियो ।