१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Monday, 01 July, 2024
नवीन अर्याल काठमाडौं
२o७९ मङ्सिर ५ सोमबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार ११:५३:oo

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको विजयी सुरुवात भएको छ। हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो।

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन तीन हजार ९९२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत प्राप्त गरेका छन्। मुस्ताङमा सात हजार २३० मत खसेको थियो।
 
मुस्ताङको थासाङ गाउँपालिका कालोपानीका योगेश कांग्रेस मुस्ताङको सभापति एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनले एलाइन्स पुनमर सिटी बैंलोर भारतबाट बिजनेश म्यानेजमेन्ट विषयमा स्नातकसम्म अध्ययन गरेका छन्।

योगेश गौचन राजनीतिसँगै कृषि, पर्यटनतर्फ होटेल तथा टुर्स एन्ड ट्राभल्समा जोडिएका छन्। उनको मुस्ताङ लेतेमा कालापानी गेष्ट हाउस सञ्चालनमा छ। यस्तै, पोखरामा त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स प्रालि र मुस्ताङमा अर्गानिक फार्म किवी खेती गरिरहेका छन्। उनी निर्माण व्यवसायमा समेत संलग्न रहेका छन्। 

सानै उमेरमा कांग्रेसको राजनीतिमा सक्रिय गौचनले जिल्लामा नेविसंघको राजनीति सुरु गरेका थिए । कांग्रेस महासमिति सदस्य समेत रहेका गौचन गण्डकी प्रदेश कार्यसमितिमा समेत रहेका छन्।
 
उनका बुवा रोमी गौचन २०७० मा मुस्ताङबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री भएका हुन्। 

निर्वाचनका प्रतिस्पर्धी योगेश गौचन र प्रेम तुलाचन नाताले साला–भेना पर्छन्। योगेशका बुबा रोमी र प्रेम मामा तथा फुपुका छोरा हुन्। मुस्ताङमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा योगेशले बाजी मारेका हुन्।

२०७० सालको दोस्रो संविधासभा निर्वाचनमा रोमी र प्रेमबीच प्रतिस्पर्धा भएको थियो । त्यस बेला मामाका छोरा पर्ने प्रेमलाई रोमीले बागी उम्मेदबार बनेर पराजित गरेका थिए। 

२०७४ को निर्वाचनमा पनि रोमी र प्रेमबीच नै प्रतिस्पर्धा भयो। एमाले प्रवेश गरेर गठबन्धनबाट उम्मेदवार बनेका प्रेमले रोमीलाई पराजित गरेका थिए।

पछिल्लो समय मुस्ताङको स्थानीय स्तरमा एमालेको बलियो संगठन रहेको छ। ३० वैशाख २०७९ मा भएको स्थानीय तह चुनावमा एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ स्थानीय तह जितेको थियो। कांग्रेसले एउटा पालिकाको अध्यक्ष र दुईवटा पालिकाको उपाध्यक्षमा चित्त बुझाउनुपरेको थियो।

ad
ad
ad
ad