१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख २३ आइतबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

'नमुना माझी बस्ती'का ४६ घर प्रयोगविहीन ! 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:o१:oo

२०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १२ शिखरपुरमा बनाइदिएको नमुना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन्।
 
भूकम्पलगत्तै रोटरी इन्टरनेसनलसमेतको सहयोगमा थाई नेपाली संघले एक करोड सात लाख खर्चेर नमुना बस्ती बनाएको थियो। 

फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए। बाक्लो नमुना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएर त्यही बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन्। 

१३ सदस्यीय परिवार नमुना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए। 

तत्काललाई नमुना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताए। उनका अनुसार केही माझी परिवारले नमुना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन्। बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन्। 

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमुना बस्तीका घरमा आधा भागसम्म ढुंगाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ। 

निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमुना बस्ती उपभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए। उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन्। वैकल्पिक घर बनाउँदा माझी परिवारलाई  दुईदेखि १० लाखसम्म ऋण लागेको उनले बताए। 
 
दीर्घकालीन सोच नराखी बनाइएको नमुना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ। रासस
 

ad
ad