१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
विश्व कुइँकेल
२o८१ जेठ ६ आइतबार o७:४७:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीति र प्रशासनको सम्बन्ध

राजनीतिज्ञहरूले विद्यमान कर्मचारीतन्त्रलाई भत्काएरै अघि बढ्नुपर्ने धारणा राख्ने गरेको सन्दर्भमा यसको विकल्प पनि दिन सक्नुपर्छ

Read Time : > 3 मिनेट
विश्व कुइँकेल
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४७:oo

मुलुकमा लोकतन्त्र स्थापनापछि विकासको अवस्थामा आमूल परिवर्तन आउनेछ भन्ने जनअपेक्षालाई अझै मूर्तरूप दिन सकिएको छैन । यसमा के कुन पक्षको कमजोरी रह्यो भनी जनतालाई नै सोध्ने हो भने औँला सरकार र उसको नीति तथा कार्यक्रमको भार बोक्ने कर्मचारीतन्त्रतिर तेर्सिन्छ । यी दुई वर्गलाई सिद्धान्ततः एउटै रथका दुई पांग्राजस्ता भनिए पनि जनअपेक्षाअनुरूप किन काम भएन भनेर सोध्दा एकले अर्कातिर औँला तेस्र्याउने गरेको पाइन्छ । 

मुलुकका प्रधानमन्त्री भइसकेका राजनीतिज्ञहरूको भनाइलाई मात्र हेर्ने हो भने पनि प्रशासनप्रति राजनीतिको दृष्टिकोण प्रस्ट हुन्छ । २०७७ जेठ १८ गते प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए– प्रशासनिक सुधार हामीले गर्नैपर्छ । अहिलेको यो सोपानक्रममा आधारित कर्मचारीतन्त्र रहेसम्म हुँदैन, एउटै झट्कामा हामीले किन भत्काउन सक्दैनौँ ? यो भनाइभित्र कर्मचारीले काम गर्न नसकेको गुनासो मात्र होइन, अबको संरचना अहिलेको जस्तो पदसोपानमा आधारित हुनुहुँदैन भन्ने तर्कसमेत रहेको छ । यसको अघिल्लो वर्ष २० मंसिरमा धनगढीको एक भाषणमा पूर्वप्रधानमन्त्री प्रचण्डले भनेका थिए– पुरानो संरचनामा काम गरेकालाई बिदाइ गर्नुपर्ने थियो । आफूले भनेको मान्छे ल्याउनुपथ्र्यो तर भएन ।

कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसात् गर्न नसक्दा संघीय व्यवस्थामै चुनौती देखा परेको छ । उनै मुख्य सचिव, उनै सचिव अनि कसरी हुन्छ परिवर्तन ? यसमा पनि प्रशासनयन्त्र परिवर्तनप्रति सकारात्मक हुन नसकेको गुनासो त छँदै छ, आफूले भनेजसरी काम गर्ने विश्वासपात्रलाई नियुक्त गर्नुपथ्र्यो भन्ने आशयसमेत लुकेको छ । यस्तै, ०६९ साउनमा बिबिसी साझा सवालमा अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्री माधव नेपालले पनि भनेका थिए– नेपालको कर्मचारीतन्त्र बहिरो छ, यसलाई आमूल परिवर्तन नगरी केही गर्न सकिन्न । अर्थात्, कर्मचारी राजनीतिक नेतृत्व र जनताका आवाज सुन्दैनन् र आफूलाई जसरी मन लाग्छ, त्यसैगरी काम गर्छन् । यी सबै भनाइको निचोड हुन्छ, रूपान्तरणका लागि तयार नभएको प्रशासनयन्त्रले काम गर्न सक्दैन, यसमा सुधार मात्र होइन, पुनर्निर्माण नै गर्नुपर्छ ।

यसैबीच उन्नाइसौँ निजामती सेवा दिवसका अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जबसम्म कर्मचारीले सहयोग गर्दैनन्, तबसम्म काम हुँदैन’ भनेका छन् । उनले प्रश्न गरेका छन्, ‘को हो यो देशको दुर्गतिको जिम्मेवार ? राजनीतिज्ञ मात्र हो कि, कर्मचारीतन्त्र पनि ?’ यही सम्बोधनका क्रममा बाटो नबन्ने, बनेको पनि सय दिनमा भत्किने विषयसमेत उठाएर सुशासनको अवस्थाप्रति पनि व्यंग्य गरेका छन् प्रधानमन्त्री देउवाले । प्रधानमन्त्रीको यो सम्बोधन केही सन्तुलितजस्तो पनि लाग्छ, किनकि यहाँ अपजसको जिम्मेवारी राजनीतिले पनि बोक्छ, प्रशासनले पनि बोक्नुपर्‍यो, दुवै जिम्मेवार हुँदा मात्र विकास सम्भव छ भन्ने दृष्टिकोण लुकेको छ ।

नागरिकले सरकारी निकायबाट छिटोछरितो सेवा पाएनन् र सेवा पाउँदा अतिरिक्त शुल्क व्यहोर्नुपर्‍यो भने उनीहरूले कसरी विश्वास गरून् त कर्मचारी संयन्त्रमाथि ? 

माथिका उदाहरणमै पनि कर्मचारीतन्त्रलाई राजनीतिज्ञले के भन्छन् भन्ने विषय घुसेकै छ । केहीअघि पूर्वसचिव मधुरमण आचार्यले ट्विट गरेका रहेछन्– नेताहरूले ‘टेक्नोक्य्राट’लाई पचाउन्नन् । आफूभन्दा जान्नेलाई कसले अघि बढाउँछ ? उनले निगाह पाएर नियुक्ति पाउनेहरूप्रति व्यंग्य पनि गरेको देखिन्छ । यसमा धेरै कर्मचारीले सहमतियुक्त जवाफ दिएको देखिँदा यो कर्मचारीवृत्तमा व्याप्त धारणा हो भनेर मान्न सकिन्छ । अतः प्रशासनयन्त्रले आफू राजनीतिज्ञभन्दा धेरै जान्ने र विषयवस्तुको ज्ञान नभएकाको आदेशमा काम गर्ने गरेको, अवकाशपछिको नियुक्ति वा आकर्षक भनिएका निकायमा पदस्थापनको लोभमा मात्र केही कर्मचारीले राजनीतिक नेतृत्वलाई सहयोग गर्ने धारणा निर्माण गरेको पाइन्छ । यसविपरीत नागरिक धारणा भने अर्कै छ । राजनीति र कर्मचारी दुवै सुशासनप्रति प्रतिबद्ध नरहेको र कहीँकतै दुवैले मिलेर काम गरिरहेको देखियो भने पनि अपवादबाहेक सुशासनमाथिको चुनौती नै हो भनेर उनीहरू ठोकुवा गर्छन् ।

शासकीय प्रणाली सफलताको मापन शान्तिसुरक्षाको अवस्था, कानुनको शासन, जनसहभागिता, दिगो विकास, मानवीय विकास, मानव अधिकारको अवस्थालगायतबाट मूल्यांकन गरिन्छ । पछिल्लो समयमा यी सबै क्षेत्रमा सुधारको लक्षण देखिन्छ, तथापि आमअसन्तुष्टिलाई हेर्ने हो भने भ्रष्टाचार, सेवा प्रवाह र विकासको दिगोपना नै गुनासोको प्रमुख विषय हो । नागरिकले सरकारी निकायबाट छिटोछरितो सेवा पाएनन्, सेवा पाउँदा अतिरिक्त शुल्क व्यहोर्नुप¥यो भने उनीहरूले कसरी विश्वास गरून् त कर्मचारी संयन्त्रमाथि ? 

प्रशासनमा ट्रेड युनियन वा कर्मचारी संगठन नामका अघोषित भ्रातृ संगठन छन् । लगभग सबै कर्मचारी राजनीतिक आस्थाका हिसाबले कित्ताकाट गरिएका छन् । प्रशासनिक व्यवस्थापन पद्धतिभन्दा पनि यस्तै निकटता र विशेष सम्बन्धका आधारमा चल्छ । तल्लो पद मात्र होइन, उच्च पदमा पनि यसको स्पष्ट झलक देखिन्छ । अवकाशपछिको नियुक्तिको लोभमा गलत कदमविरुद्ध बोल्न नसकेका प्रमाण अनेकौँ छन् । 

राजनीतिलाई सिद्धान्ततः मुलुकको मूल नीति भनिन्छ । राज्य सञ्चालनको मुख्य खाँबो राजनीतिकै बलमा ठडिएको हुन्छ । सरकारको गठन, व्यवस्थापिकाको गठनलगायत अन्य संरचना निर्माण र नियुक्तिमा राजनीति नै सर्वेसर्वा हुन्छ । त्यसकारण मानिस भन्छन्, मूल नीतिमा सुधारविना अन्यत्र सुधारको कल्पना गर्नु बेकार हो । यहाँनेर एउटा प्रश्न उठ्छ, हाम्रो राजनीतिले स्वच्छता विकास गर्ने प्रतिबद्धता किन देखाउँदैन ? यसले हाम्रो विकृत निर्वाचन प्रणालीतर्फ लक्षित गर्छ । सुधारको दिशामा चाल्न सकिने पाइलालाई सर्पदेखि जोगी डराउने र जोगीदेखि सर्प डराउने भनेजस्तै भएको छ । 

राजनीतिज्ञहरूले विद्यमान कर्मचारीतन्त्रलाई भत्काएरै अघि बढ्नुपर्ने धारणा राख्ने गरेको सन्दर्भमा यसको विकल्प पनि दिन सक्नुपर्छ । एउटा विकल्प राजनीति वा सरकार परिवर्तन हुँदा विशेषतः नीति–निर्माण तहमा नयाँ कर्मचारी ल्याउने, अर्को अहिलेको सोपान प्रणालीमा आधारित ढाँचालाई भत्काएर विज्ञ प्रणालीको संरचना बनाउने र तेस्रो सचिवालय प्रणालीको सुदृढीकरण गर्ने । यसमा राजनीतिक नेतृत्व परिवर्तन हुँदा आफूअनुकूलको प्रशासनिक प्रमुखको सरुवा गरी ल्याउने प्रचलनलाई केहीले ‘स्प्वायल सिस्टम’कै रूपमा चित्रणसमेत गरेका छन् ।

अतः राजनीति र प्रशासनले बाझाबाझ गरेर शासकीय आयाममा सुधार आउँदैन । यसका लागि प्रभावकारी उत्तरदायित्व प्रणाली विकास गर्नुपर्छ । जसमा परिणामप्रतिको उत्तरदायित्व, सुशासनप्रतिको उत्तरदायित्व, प्रणालीप्रतिको उत्तरदायित्व, नागरिकप्रतिको उत्तरदायित्व, राष्ट्रप्रतिको उत्तरदायित्व होस् । निर्वाचन प्रणालीकै विकृतिले गर्दा निर्वाचन जित्न भ्रष्टाचार गर्नुपर्ने अवस्था नहोस् र यसैको जगमा टेकेर प्रशासनयन्त्र भ्रष्ट नहोस् भन्नेमा सचेत हुन आवश्यक छ । 

ad
ad