मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०६:५९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युएईविरुद्ध नेपाललाई ब्याटिङको चिन्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०६:५९:००

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीचको अन्तिम तथा निर्णायक एकदिवसीय क्रिकेट शुक्रबार हुँदै छ । नेपाल र युएईले एक–एक खेल जितेका छन् । सिरिज हात पार्न दुवै टोली खेल गुमाउन चाहँदैनन् । नेपालले बुधबार दोस्रो खेलमा युएईमाथि तीन विकेटको जित निकाली सिरिज १–१ को बराबरी गरेको थियो । पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । शुक्रबार निर्णायक खेलमा जित निकाल्दै नेपाल घरेलु मैदानमा ट्रफी उचाल्ने दाउमा छ । नेपालको मुख्य चिन्ता नै ब्याटिङ हो । एकदिवसीय खेलमा नेपालको ब्याटिङ सन्तोषजनक छैन । पहिलो दुई खेलमा घरेलु टोलीका ब्याट्सम्यान रनका लागि संघर्षरत देखिए । 

युवा कप्तान रोहितकुमार पौडेलले आफ्नो कप्तानीमा नेपाल पहिलो उपाधि दिलाउन ब्याटिङ पक्षमा नै केन्द्रित र सुधार गर्नुपर्ने बताएका छन् । मुख्य प्रशिक्षक मनोज प्रभाकर र कप्तान रोहितकुमारले ब्याटिङ अर्डरमा प्रयोग गरेका छन् । जसकारण नै नेपालको ब्याटिङमा एकरूपता आउन नसकेको हो । प्रशिक्षक प्रभाकर पनि आफ्नो प्रशिक्षणमा लगातार दोस्रो सिरिज जित्ने लक्ष्यमा छन् । गत सेप्टेम्बरमा नेपालले केन्याविरुद्ध एकदिवसीय र टी–२० दुवै शृंखला हात पारेको थियो । कप्तानझैँ उनी पनि नेपाली खेलाडीको ब्याटिङलाई लिएर चिन्तामा छन् । 

ब्याटिङमा प्रयोग
पहिलो एकदिवसीय खेलमा नेपालको ब्याटिङलाइन सम्हालिन नसक्दा युएईले सहज जित पाएको थियो । दोस्रो खेलमा समेत घरेलु टोलीको ब्याटिङ उत्साहजनक भएन । नियमित सदस्य र आशालाग्दा खेलाडी क्रिजमा टिक्न नसक्दा नेपालले मध्यम तथा सहज लक्ष्य पछ्याउँदा निकै संघर्ष गर्नुपरेको थियो । यो सिरिजमा ब्याटिङलाइन प्रयोग भएको देखिन्छ । डिसेम्बरमा नेपालले नामिबियामा आइसिसी पुरुष विश्वकप डिभिजन लिग २ खेल्दै छ । नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी हुने शृंखलाअघि युएईविरुद्धको खेल तयारीका लागि मानिएको छ । 

टी–२० फम्र्याटमा ओपनिङ गर्दै आएका कुशल भुर्तेल यस सिरिजमा मध्यक्रम ब्याट्सम्यानका रूपमा देखिएका छन् । पहिलो खेलमा डेब्यु गरेका खेलाडी अर्जुन साउदलाई ओपनरका रूपमा प्रयोग गरिएको थियो । अर्जुन पहिलो क्रममा आउँदा कुशल पाँचौँ अर्डरपछि ब्याटिङमा देखिए । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि तेस्रो तथा चौथो क्रममा छन् । मध्यक्रममा फर्ममा रहेका दीपेन्द्रसिंह ऐरीले नेपाललाई राम्रो साथ दिएका छन् । यद्यपि, अन्य नाम चलेका खेलाडी खासै चल्न नसक्दा नेपालको ब्याटिङ संघर्षरत देखिएको हो ।