चुनाव प्रचारप्रसारको अवधि सकिन केही घन्टा मात्र बाँकी रहँदा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन्। यसअघि वडा तथा टोल भेला, सभा, समारोहमा केन्द्रित उम्मेदवार र दलहरूले अहिले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत पर्ने कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारहरू घरदैलो अभियानसँगै नमुना मतपत्र लिएर आफ्नो चुनाव चिह्नमा मतदान गर्ने तरिका मतदातालाई सिकाइरहेका छन्।
क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डिल्लीराज पन्तले अहिले आफूलाई प्रचारप्रचारमा भ्याइनभ्याई रहेको बताए। ‘विभिन्न टोल, समाजबाट बोलाइरहनुभएको छ। बढीभन्दा बढी ठाउँ पुग्न भ्याइनभ्याई छ,’ पन्तले नयाँ पत्रिकासँग भने, ‘अन्तिम समयमा अन्तिम कोसिस गरिरहेका छौँ।’ यसअघि सभा, समारोह, भेलामार्फत गठबन्धनको आवश्यकता र आफ्ना मुद्दा जनतालाई बुझाउने काम भएको उल्लेख गर्दै उनले प्रचारप्रसारको अन्तिम दिन घरदैलो अभियानलाई प्राथमिकता दिएको बताए।
‘गठबन्धन भएकाले दुईवटा चुनाव चिह्न छ। त्यसैले घरघरमा गएर मत माग्नेसँगै हाम्रो चुनाव चिह्नमा मतदान गर्ने तरिकाबारे पनि जानकारी दिइरहेका छौँ,’ पन्तले भने, ‘आमनागरिकमा गठबन्धनप्रति ठूलो आशा रहेको पाएका छौँ।’ मतदान गर्ने तरिकाबारे जानकारी दिन नमुना मतपत्रसहित छुट्टै टोली पनि खटाएको उनले जानकारी दिए।
धनगढी उपमहानगरका १९ वटै वडा र कैलारी गाउँपालिकाका दुई वडा पर्ने यो क्षेत्रमा गठबन्धनबाट संघमा नेपाली कांग्रेसका पन्त, प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र)का रमेशसिंह धामी र (ख) मा कांग्रेसका प्रकाश देउवा उम्मेदवार छन्। पन्त प्रदेश सभाका दुवै क्षेत्रमा दिन बिराएर पालैपालो प्रचारमा जाने गरेका छन्। एक दिन प्रदेशको एउटा क्षेत्र र अर्को दिन अर्को क्षेत्रमा पुगेर घरदैलो अभियान गरिरहेको उनले बताए। सबैजसो टोल र वडामा आफू पुगिसकेको पन्तले जानकारी दिए।
एमाले पनि अहिले घरदैलो अभियानमा केन्द्रित छ। क्षेत्र नम्बर ५ बाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारदमुनि रानाले यसअघि टोलभेला, कार्यक्रम गरिएकोमा अहिले घरदैलो अभियानलाई नै तीव्रता दिएको बताए। ‘सुरुमा सभा, भेलामार्फत आफ्ना एजेन्डाहरू जनतामा लग्यौँ। अहिले घरदैलोमा केन्द्रित छौँ,’ रानाले भने, ‘घरघरमै गएर सूर्य चिह्नमा मतदान गर्ने तरिका सिकाइरहेका छौँ।’
निर्वाचन प्रचारका क्रममा क्षेत्र नम्बर ५ को सबै वडा र टोलमा आफू पुगेको उनले बताए। एमालेले पनि मतदान गर्ने तरिकाबारे मतदातालाई जानकारी दिन सबै वडाहरूमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ। ‘आज मात्र मैले दुई सयभन्दा बढी घरमा पुगेर मत मागेँ,’ उनले दाबी गरे, ‘एमालेको पक्षमा यहाँ राम्रो माहोल बनेको छ।’ एमालेका प्रदेश सभाका दुवै उम्मेदवारसँगै रानाले घरदैलो गरिरहेका छन्।
क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले गठबन्धन र एमालेलाई कडा टक्कर दिइरहेका छन्। यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ। ओझालाई कांग्रेसकै ठूलो पंक्तिको समर्थन छ। ०७० को उपनिर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ६ (हालको ५)बाट कांग्रेसबाट जितेका उनलाई ०७४ को निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणालाई हराउन लागेको आरोपमा पार्टीको साधारण सदस्यबाट हटाइएको थियो। कांग्रेसकै कतिपय नेताहरू ओझाको पक्षमा खुलेर लागेकाले गठबन्धनलाई चुनौती थपिएको छ।
आक्रामक प्रचार गरिरहेका ओझा पनि मतदाता रिझाउने अन्तिम कोसिसमा छन्। आफूले अघि सारेका विकासका एजेन्डा तथा विगतमा आफूले गरेका कामबारे जनताको घरदैलोमा पुगेर बुझाउने कोसिस गरिरहेको ओझाले बताए। स्वतन्त्र उम्मेदवार विजयी हुँदा काम गर्न सहज हुने भन्दै उनले मतदातालाई मनाउने प्रयास गरिरहेका छन्।
उनले आफू निर्वाचन क्षेत्रका धेरैजसो ठाउँमा पुगेको बताए। चुनावी अभियानका क्रममा पाइरहेको मतदाताको साथले आफू उत्साहित भएको ओझाले बताए। आममतदाता र सबै पार्टीका असन्तुष्टले आफूलाई साथ दिइरहेको उनको दाबी छ। ‘दलहरूले काम गर्न सकेनन् भनेर मतदाता निराश छन्। स्वतन्त्रप्रति उनीहरूको आशा छ,’ ओझाले भने, ‘चुनावी अभियान पनि घरदैलोमै केन्द्रित छ।’
गत स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन अगाडि छ। गठबन्धनको यहाँ ३२ हजार ६ सय र एमालेको १७ हजार चार सय २० मत छ। प्रतिनिधिसभा सदस्यका लागि यो क्षेत्रबाट पाँचजना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन्। बिहीबार रातिबाट निर्वाचनको मौन अवधि सुरु हुँदै छ।