मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार १७:०८:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली ५ मा गठबन्धन र एमालेलाई स्वतन्त्रको डर 

Read Time : > 3 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार १७:०८:००

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको कैलाली ५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा मुख्य प्रतिस्पर्धी हुन् ।

जनाधारका हिसाबले कैलाली ५ मा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी रहे पनि कांग्रेसका पूर्वनेता ओझा पनि चुनावी मैदानमा उत्रिएपछि झनै रोचक बनेको हो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली ५ (तत्कालीन ६) र डडेल्धुराबाट चुनाव जित्दा धनगढी छाडेका थिए । 

उपनिर्वाचनमा कांग्रेसबाट विजयी बनेका तिनै ओझालाई ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई हराउन भूमिका खेलेको बात लागेपछि कारबाहीमा परे, पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्काशित भए । त्यतिखेर वाम गठबन्धनबाट एमाले नेता राना २७ हजार दुई सय दुई मतसहित विजयी हुँदा आरजुले २२ हजार तीन सय २२ मत मात्र पाएकी थिइन् ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनताका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले ओझालाई भेट्न बोलाएका थिए । बरु उनले धनगढी उपमहानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार बनेका नृप वडलाई हराउन भूमिका खेलेको आरोप लाग्यो ।

प्रतिनिधिसभा निर्वाचनमा भने उनी आफैँ उम्मेदवार बनेका हुन् ।

कसको कति मत ?
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा कैलाली ५ मा एमालेभन्दा झन्डै दोब्बर मतले अगाडि रहेको गठबन्धनको जितमा ओझा चुनौतीका रूपमा रहेका छन् । कांग्रेसका कतिपय असन्तुष्ट नेता–कार्यकर्ताले ओझालाई समर्थन गरिरहेकाले गठबन्धनका लागि यहाँ चुनौती थपिएको हो । 

कांग्रेस कैलालीका पूर्वसचिव पूर्ण कुँवरलगायत नेताहरू ओझाको पक्षमा खुलेरै लागेका छन् । कतिपय पुराना नेताको समर्थन पनि उनलाई छ । डोटीबाट बसाइँ सरेरआएका मतदाताको बाहुल्य रहेको क्षेत्र नम्बर ५ मा भेगीय रूपमा पनि ओझाको पकड छ । 

‘पञ्चायतकालदेखि नै म यहाँ काँग्रेसको संगठन निर्माणमा सक्रिय रहेँ । त्यही भएर पनि होला कांग्रेसका धेरै नेता–कार्यकर्ताले मलाई अहिले समर्थन गर्नुभएको छ,’ ओझाले भने, ‘सबै पार्टीका असन्तुष्ट र आमनागरिकको साथ रहेकाले म स्वतन्त्र भए पनि साझा उम्मेदवार हुन पुगेको छु । चुनावी अभियानका क्रममा पाइरहेको मतदाताको साथले म उत्साहित छु ।’

दलहरूप्रति नागरिकमा देखिएको असन्तुष्टिका कारण पनि आफूलाई मतदाताको समर्थन मिलेको उनको भनाइ छ । यद्यपि, पार्टीका असन्तुष्ट मत मुख्य प्रतिस्पर्धी एमालेमा नभई स्वतन्त्रमा जाने भएकाले यसले गठबन्धनलाई फाइदा गर्ने कांग्रेसका कतिपय नेताको विश्लेषण छ । 

गठबन्धनलाई स्वतन्त्र चुनौतीका रूपमा रहेको आकलन गरिए पनि स्थानीय तहमा प्राप्त मतका आधारमा भने यहाँ गठबन्धन स्पष्ट रूपमा अगाडि छ । कैलाली ५ मा पर्ने धनगढी उपमहानगरकाका १९ वटै र कैलारी गाउँपालिकाका दुईवटा गरी २१ वटा वडामा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको ३२ हजार ६ सय र एमालेको १७ हजार चार सय २० मत छ । कांग्रेस एक्लैको २२ हजार सात सय ७९ मत रहेको छ । धनगढीको मेयरमा भने कांग्रेस उम्मेदवारलाई पराजित गरेर स्वतन्त्र र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका थिए । 

गठबन्धनका उम्मेदवार पन्त स्वतन्त्र उम्मेदवारीले आफूलाई कुनै फरक नपर्ने दाबी गर्छन् । कांग्रेसको बलियो पकड रहेको यो क्षेत्रमा पाँचदलीय गठबन्धनले आफ्नो जित अझ सहज बनाएको उनको दाबी छ । ‘स्थानीय तहमा पाएको मतले पनि यसको पुष्टि गर्छ,’ उनले भने, ‘हामी स्पष्ट रूपमा अगाडि छौँ ।’ स्वतन्त्रको कुनै सम्भावना नरहेको दाबी गर्दै उनले आफ्नो निकट प्रतिस्पर्धी एमाले नै रहेको बताए ।  

आफ्नो उम्मेदवारीलाई लिएर पार्टीभित्र कुनै विवाद र असन्तुष्टि नरहनुले पनि आफूलाई सजिलो भएकाे उनले बताए । दुईपटक संसद् विघटन गरेर मुलुकलाई अस्थिरतामा लैजान खोजेको एमालेप्रति जनविश्वास गुमेको पन्तको दाबी छ । 

कांग्रेसले क्षेत्र नम्बर ५ मा यसपटक पनि आरजुलाई नै उम्मेदवार बनाउने प्रयास गरेको थियो । उम्मेदवारका लागि क्षेत्र र जिल्लाबाट पार्टीले उनको एकल नाम सिफारिस पनि गरेको थियो । तर, आन्तरिक किचलोका कारण आरजुले समानुपातिक रोजेपछि निवर्तमान प्रदेश सभा सदस्य पन्तलाई उम्मेदवार बनाइएको हो । प्रदेश सभा (क) मा माओवादीका रमेशसिंह धामी र (ख) मा कांग्रेसका प्रकाश देउवा उम्मेदवार छन् । प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् ।

एमालेलाई असन्तुष्ट मिलाउन सकस
०७४ को चुनावमा यो क्षेत्रबाट आरजुलाई पराजित गरेर चर्चामा आएका रानालाई पनि यसपटक दोहोरिन चुनौती छ । त्यतिवेला एमाले, माओवादीको वाम गठबन्धन थियो । तर, अहिले माओवादी केन्द्र र पूर्वएमालेको एउटा खेमाको साथ कांग्रेस उम्मेदवार पन्तलाई छ । 

रानामाथि सांसदको रूपमा यस क्षेत्रको विकासमा खासै काम गर्न नसकेको आरोप छ । टिकट वितरणलाई लिएर केही नेता रुष्ट छन् । एमालेका पुराना नेता यज्ञराज बाँस्तोलाको प्रदेश सभातर्फको टिकट अन्तिम समयमा खोसिएपछि एमालेभित्र असन्तुष्टि बढेको छ । रानाले टिकट खोसेको भन्दै बाँस्तोलासहितका असन्तुष्ट नेताहरू चुनावी प्रचारमा देखिएका छैनन् ।

राना भने एमालेभित्र खास विवाद र असन्तुष्टि नरहेको दाबी गर्छन् । राष्ट्रियस्तरमा एमालेले लिएको राष्ट्रियताको नीति र यहाँको विकासका लागि विगत पाँच वर्षमा आफूले खेलेको भूमिका नै आफ्नो चुनाव जित्ने आधार भएको उनको दाबी छ । ‘मेरै पहलमा यहाँ कोल्डस्टोर, सभागृह, संग्रहालय निर्माण भएका छन् । धनगढी–खुटिया–दीपायल फास्ट ट्रयाकको कालोपत्रको ठेक्का भएर काम अगाडि बढेको छ,’ रानाले भने, ‘यो पाँच वर्षमा मैले यो क्षेत्रमा थुप्रै काम गरेको छु । थप विकासका लागि पनि जनताले मलाई विश्वास गरेका छन् । चुनावी अभियानका क्रममा पनि जनताले मलाई विश्वास गरेको पाएको छु ।’ यससँगै राष्ट्र र राष्ट्रियताप्रति एमालेको अडान तथा खुसी नेपाली, समृद्ध नेपालको मुद्दा आफ्नो चुनाव जित्ने आधार भएको उनले बताए । 

एमालेले प्रदेश सभा १ मा नेपालु चौधरीलाई दोहोर्‍याउन खोजेको छ । २ मा एमालेबाट दुर्गा जोशी उम्मेदवार छन् ।

पाँच दलका उम्मेदवार, पाँच स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली ५ बाट ११ जना उम्मेदवार छन् । जसमा पाँचजना दलका उम्मेदवार छन् भने पाँचजना स्वतन्त्र उम्मेदवार । कांग्रेसका ओझा, एमालेका राना, स्वतन्त्र उम्मेदवार ओझा यहाँका मुख्य प्रतिस्पर्धी हुन् । 

त्यसबोहक राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, लोकतान्त्रिक समाजवादीका दानबहादुर विश्वकर्मा र नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर (राना) प्रतिस्पर्धामा छन् । 

रामबहादुर सिंह, सत्यराज उपाध्याय, जगदीश चौधरी र गगनबहादुर धामी स्वतन्त्र उम्मेदवार हुन् । एक लाख १० हजार चार सय ५३ मतदाता रहेको कैलाली ५ मा कांग्रेस, एमाले र माओवादीबाहेक अन्य दलको प्रभाव न्यून छ । 


पुष्करनाथ ओझाका चुनावी एजेन्डा

  • सेती प्रादेशिक अस्पतालको स्तरोन्नति
  • गेटामा मेडिकल कलेज सञ्चालन
  • प्रादेशिक विश्वविद्यालय स्थापना
  • गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल

नारदमुनि रानाका चुनावी एजेन्डा

  • धनगढीलाई मेगासिटी बनाउने
  • धनगढी बजारलाई व्यवस्थित गर्ने
  • धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने
  • गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल
  • नगरभित्रका सडकको स्तरोन्नति

डिल्लीराज पन्तका चुनावी एजेन्डा

  • स्वास्थ्य संस्थाको स्तरोन्नति
  • धनगढीलाई सुविधासम्पन्न र स्मार्टसिटी बनाउने
  • विश्वविद्यालय स्थापना
  • खेलकुद एकेडेमी स्थापना
  • धनगढी–खुटिया–दीपायल फास्टट्रयाकलाई तीव्रता