उतिवेला भारतमा अंग्रेजको शासन थियो । भारतमा उनीहरूको अत्याचार दिनदिनै बढ्दै गइरहेको थियो । उनीहरू भारतीय नागरिकमाथि अनेक प्रकारका अत्याचार गर्न पछि पर्दैनथे । उनीहरू भारतीयमाथि शोषण गर्न पाउँदा निकै खुसी हुन्थे । एक दिन प्रतापगढ स्टेसनमा एउटा अंग्रेज सर्जेन्ट केरा खाइरहेका थिए । उनको नजिकै एक भारतीय युवती रेलको प्रतीक्षामा उभिएकी थिइन् । अंग्रेज सर्जेन्टले ती भारतीय युवतीलाई अगाडिदेखि नै विभिन्न हर्कत गरेर जिस्काइरहेका थिए ।
खाँदाखाँदै उनले केराको बोक्रा छेउमा उभिएकी तिनै युवतीतिर फ्याँकिदिए । उनको यस्तो असभ्य व्यवहार देखेपछि आफूलाई सम्हाल्दै ती युवती केही टाढा गइन् । त्यो देखेपछि ती सर्जेन्टको साहस झन् बढ्यो । यसपटक उनले ती युवतीको अगाडि गएर जोडले सिटी बजाए ।
ती युवतीले उद्दण्ड सर्जेन्टको यस्तो व्यवहारको विरोध गर्ने साहस जुटाउन सकिनन् । तर, त्यसै वेला एक भारतीय युवा कतैबाट त्यहाँ आइपुगे । उनले नम्रतापूर्वक ती सर्जेन्टलाई सोधे, ‘तिमी यस्तो व्यवहार किन गरिरहेका छौ ? यिनलाई किन यसरी जिस्काइरहेका छौ ?’
सर्जेन्टले उनको कुरामा चासो दिएनन् । उल्टो धम्की देखाउन थाले । उनको यस्तो असभ्य चाला ती युवकका लागि सह्य भएन । त्यसपछि उनले ती अंग्रेज सर्जेन्टको गालामा एक जोडदार थप्पड प्रहार गरे । कडा थप्पड खाएपछि ती अंग्रेज सर्जेन्ट लड्खडाएर झन्डै–झन्डै पछारिए ।
बल्लतल्ल सम्हालिँदै उनी ती युवकतिर खनिए । युवक पहिल्यै जवाफी हमलाका लागि तयार थिए । उनले ती अंग्रेज सर्जेन्टलाई यसरी जमाएर मर्मत गरे कि अन्त्यमा उनले ती युवतीसित माफी नै माग्नुपर्यो । त्यसरी अन्यायविरुद्ध निडर भएर आवाज उठाउने ती भारतीय युवा थिए, चन्द्रशेखर आजाद । पछि उनी एक क्रान्तिकारी सहिदका रूपमा परिचित भए ।