• वि.सं २०८१ बैशाख १६ आइतबार
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट बिहीबार साँझ मन्त्री पदको शपथ ग्रहण गर्दै हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता शैलेन्द्र बज्राचार्य ।
२०८० चैत १५ बिहीबार २१:११:००
प्रदेश

समर्थन फिर्ता लिएको दुई दिनभित्रै बागमती सरकारमा हानेपाको प्रवेश

हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले लिए मन्त्रीको शपथ 

२०८० चैत १५ बिहीबार २१:११:००

सरकारलाई दिएको समर्थन फिर्ता लिएको दुई दिनभित्रै हाम्रो नेपाली पार्टी (हानेपा) बागमती प्रदेश सरकारमा सहभागी भएको छ।
सो दलका नेता शैलेन्द्र बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री बनेका छन्। 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबारै बज्राचार्यलाई समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका थिए। बिहीबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले बज्राचार्यलाई मन्त्री पदको शपथ गराए। 

मंगलबार हानेपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री बनाए मात्रै वर्तमान गठबन्धनलाई मत दिने सो दलका संसदीय दलका नेता बज्राचार्यले बताउँदै आएका थिए। 

केन्द्रमा नयाँ गठबन्धन बनेपछि तत्कालीन सत्तासाझेदार दल कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। 

२२ चैतसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको अवस्थामा दुई सांसद रहेको हानेपा सरकारमा सहभागी भएसँगै बागमती प्रदेश सरकारको संकट तत्काललाई टरेको छ।

जम्कट्टेलले जुटाए बहुमत
सरकारमा सहभागी हुनुअघि हानेपाले वर्तमान सत्तागठबन्धनसँग पाँचबुँदे सहमति गरेको छ। बज्राचार्य सरकारमा सहभागी भएसँगै जम्कट्टेल नेतृत्वको सरकारले पुनः बहुमत प्राप्त गरेको छ। 
एक सय १० सदस्य रहेको बागमती प्रदेश सभामा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ। प्रदेश सभामा नयाँ गठबन्धनका दलहरू एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी जम्मा ५५ सांसद छन्। यस्तो अवस्थामा दुई सांसद रहेको हानेपा थपिएपछि जम्कट्टेल नेतृत्वको सरकारले बहुमत सदस्य जुटाएको छ।