दसैँभरि शान्त रहेका मोरङ र सुनसरीमा २४ घण्टाको अवधिमा तीनवटा रहस्यमय घटना भएका छन् । विराटनगरका एक रेस्टुरेन्ट सञ्चालक जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । सुनसरीको बर्जु गाउँपालिकामा बोराभित्र एक व्यक्तिको शव फेला परेको छ भने मोरङको पथरीशनिश्चरेबाट सेल्फी खिच्न गएका दुई बालिका बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार विराटनगरको कञ्चनबारी र गोल्छा चोकमा आउटलेट रहेको पिजफायर रेस्टुरेन्टका सञ्चालक विराटनगर महानगरपालिका– ३ का ५१ वर्षीय मनोज खत्री केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका हुन् ।
उनी शनिबार दिउँसो १ बजे घरबाट काम छ भन्दै स्कुटर लिएर निस्किएका थिए । तर, उनको शव विराटनगरबाट करिब ५० किलोमिटर पूर्व–उत्तरमा पर्ने कानेपोखरी गाउँपालिकाको धारापानीस्थित घना जंगलको बिचमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । घरबाट स्कुटी चढेर निस्किएका खत्रीको शवबाट चाबी फेला परे पनि स्कुटी भने फेला परेको छैन ।
लामो समय वैदेशिक रोजगारबाट फर्केका खत्री सफल रेस्टुरेन्ट व्यवसायी थिए । फुड एन्ड बेभरेजमा आफैँ मास्टर सेफ (मुख्य कुक) रहेका खत्रीले पहिले विराटनगरको कञ्चनबारीको पीपल चोकमा फिजफायर रेस्टुरेन्ट थालेका थिए । त्यसबाट सफलता हासिल भएपछि उनले गोल्छा चोकमा पनि शाखा विस्तार गरेर सोही नामबाट आउटलेट खोलेका थिए ।
व्यवसायमा सफलता हासिल गरेका खत्रीको मृत्युबारे गहन अनुसन्धान थालेको मोरङका एसपी कवित कटुवालले बताए । उनका अनुसार खत्रीले आत्महत्या गरेका हुन् वा उनको हत्या भएको हो भन्नेवारे अझै यकिन भइसकेको छैन ।
आइतबार बिहान मोरङ र सुनसरीको सिमानामा पर्ने सुनसरीको बर्जु गाउँपालिका– २, भीमपुरस्थित केसलिया खोलामा बोराभित्र हालिएको अवस्थामा विराटनगरका एक व्यापारीको शव फेला परेको छ । मृतक भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका लालजीप्रसाद गुप्ता हुन् । उनले चार दशकभन्दा बढी समयदेखि विराटनगर महानगरपालिका– ६, महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए ।
सुनसरीका एसपी पुष्पराज मल्लका अनुसार स्थानीयवासीले आइतबार बिहान केसलिया खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले व्यापारी गुप्ताको हत्या गर्ने व्यक्ति फेला पार्न सकेको छैन । ‘बोराभित्र शव फेला परेको र मृतकको पहिचान खुलेको भए पनि उनको मृत्यु कसरी भयो, शव त्यहाँ कसले र किन पुर्यायो भन्ने विषय खुल्न सकेको छैन, अनुसन्धान जारी छ,’ एसपी मल्लले भने ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट दुईजना बालिका हराएका छन् । घरबाट सालबारीमा फोटो खिच्न जाने भन्दै शनिबार दिउँसो निस्किएका उनीहरू आइताबार साँझसम्म सम्पर्कमा आएका छैनन् । परिवारका अनुसार बेपत्ता हुनेमा पथरीशनिश्चरे नगरपालिका– २ की १३ वर्षीया एन्जी बराइली र वडा नम्बर ७ की १६ वर्षीया शीतल घिमिरे छन् । बालिका बेपत्ता भएकोबारे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।