हेटौँडाको हुप्राचौरस्थित जुस पसलमा बसेका युवामाथि रड प्रहार हुँदा तीनजना घाइते

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर/ हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्राचौरस्थित अन फ्रेस जुस पसलमा आइतबार साँझ मास्क लगाएर आएका चारजना अपरिचित व्यक्तिहरूको आक्रमणबाट तीनजना घाइते भएका छन्।

दुईवटा मोटरसाइकलमा आएका ती अपरिचित व्यक्तिहरूले पसलभित्र रहेका युवामाथि रड प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका छन्।

प्रहरीका अनुसार आइतबार साँझ दुईवटा मोटरसाइकलमा मास्क लगाएर आएका चारजनाले पसलभित्र रहेका युवामाथि फलामे रड प्रहार गरेका थिए।

आक्रमणबाट हेटौँडा–३, बसामाडीका २७ वर्षीय बुद्ध पाख्रिनको बायाँ आँखामा, ३१ वर्षीय जन मुक्तानको टाउको र हातमा तथा ३० वर्षीय अंकित राईको टाउकोमा चोट लागेको छ ।

घाइते तीनैजना आफैँ उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालयअन्तर्गत सानोपोखरा प्रहरी चौकीका प्रहरी निरीक्षक धर्मराज खत्रीको कमान्डमा १० जना प्रहरी परिचालन गरिएको छ। यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १४ गणबाट प्रहरी निरीक्षक शत्रुधन ठाकुरको कमान्डमा १० जना सशस्त्र प्रहरी पनि खोजतलासमा खटिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार