सिराहा/ सिराहाको गोलबजारबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार गोलबजार नगरपालिका–४ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजयकुमार यादव र २० वर्षीय अरविन्दकुमार यादव रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता डिएसपी जीवन निरौलाका अनुसार उनीहरूको साथबाट ५३ ग्राम ३ मिलिग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजु बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा बुझाएको डिएसपी निरौलाले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।