देशभर २४ घण्टामा १३ विपतका घटना, एकजनाको मृत्यु, आठ घाइते

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ देशभर पछिल्लो २४ घण्टामा १३ वटा विपतका घटना भएका छन्। ती घटनामा परी एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। विपतका कारण करिब १३ लाख २० हजार रुपैयाँबराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म विभिन्न जिल्लामा सर्पदंश, आगलागी तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन्। त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौं, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन्। बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ।

विपतमा घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्यत्र लगिएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले थप जनधनको क्षति हुन नदिन सम्बन्धित निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, जोखिमको अवस्था देखिएमा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

सुझावित समाचार