काठमाडौं फिल्म फेस्टिभलका लागि मार्को मुलर काठमाडौंमा

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ काठमाडौं महानगरपालिकाद्वारा आयोजित पहिलो संस्करणको ‘काठमाडौं फिल्म फेस्टिभल’मा सहभागी हुन सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर काठमाडौं आइपुगेका छन्।

महोत्सवको पूर्वसन्ध्यामा महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनीता डंगोलले मुलरसहित जापानका निर्देशक ताकायुकी नाकामुरा, भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा र अभिनेत्री शबाना आजमी महोत्सवमा सहभागी हुने जानकारी दिइन्।

महोत्सव कात्तिक १३ गते वसन्तपुरमा गरिने सम्पदा यात्रासँगै सुरु हुनेछ। महोत्सवमा मास्टर क्लास, प्यानल डिस्कसन र चलचित्र प्रदर्शनका कार्यक्रमहरू राखिएका छन्।

कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा अभिनेत्री सबाना आजमीले ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयमा अन्तरसंवाद गर्नेछिन्। सोही दिन निर्देशक नाकामुरा र दीप्ति डिकुन्हाका छुट्टाछुट्टै प्रस्तुति र प्यानल छलफल हुनेछन्।

कात्तिक १५ गते प्राध्यापक मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बिच चलचित्र सौन्दर्य शास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन्।

कात्तिक १५ गते नै राष्ट्रिय सभागृहमा रेड कार्पेट, अवार्ड वितरण र पुरानो नेपाली चलचित्र ‘के घर, के डेरा’ प्रदर्शनसँगै महोत्सव समापन हुनेछ। महानगरका अनुसार पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने र काठमाडौंका कथाहरूको खोजी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

कार्यवाहक प्रमुख डंगोलले नागरिक, संस्कृति र सम्पदालाई केन्द्रमा राखेर सुरु गरिएको यो फेस्टिभललाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने बताइन्।

सुझावित समाचार