रुपन्देहीमा १२ जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादी अदालतमा पेश

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण

बुटवल/ रुपन्देही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर लामो समयदेखि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक १० गते जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका सिलसिलामा रुपन्देही जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले जनाएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये वन पैदावार, चेक अनादर, सवारी ज्यान, बैंकिङ कसुर र अंश नामसारीलगायतका मुद्दाका प्रतिवादी छन् । उनीहरू रुपन्देहीका कञ्चन, सिद्धार्थनगर, मायादेवी, ओमसतिया, देवदह, बुटवल र सियारी क्षेत्रका बासिन्दा हुन् ।

प्रहरीको विवरणअनुसार वन पैदावार मुद्दामा कञ्चन गाउँपालिका–१ का भक्तबहादुर विश्वकर्मालाई सात दिन कैद र ३८ हजार १८८ रुपैयाँ जरिवाना तोकिएको थियो । सोही मुद्दामा कञ्चन गाउँपालिका–२ का दिनेश थारुलाई ३८ हजार १८८ रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यस्तै, चेक अनादर मुद्दामा कञ्चन गाउँपालिका–२ का रामचन्द्र सिंहलाई दुई हजार, कञ्चन गाउँपालिका–४ का मोमबहादुर श्रीसलाई तीन हजार, मायादेवी गाउँपालिका–८ का रितेश चौधरीलाई पाँच सय, ओमसतिया गाउँपालिका–३ का बासुदेवप्रसाद थारूलाई दुई हजार, देवदह नगरपालिका–५ का कृष्णा पौडेललाई तीन हजार, बुटवल उपमहानगरपालिका–३ का रेशमलाल आचार्यलाई दुई हजार र मायादेवी गाउँपालिका–८ का रामसुमेर यादवलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

सवारी ज्यान मुद्दामा कञ्चन गाउँपालिका–३ का कृष्णबहादुर क्षेत्रीलाई चार दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो । बैंकिङ कसुर मुद्दामा सिद्धार्थनगर नगरपालिका–४, दोघराका रामलाल ढाडीलाई एक वर्ष छ महिना १० दिन कैद र आठ लाख २४ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएको प्रहरीको विवरणमा उल्लेख छ । त्यस्तै, अंश नामसारी मुद्दामा सियारी गाउँपालिका–२ का मतै चाईलाई आठ हजार ९७० रुपैयाँ जरिवाना तोकिएको थियो ।


प्रहरीले अदालतका विभिन्न मिति र फैसलाबमोजिम सजाय तोकिएका प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको जनाएको छ ।

सुझावित समाचार