मकवानपुर/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित चारजना पक्राउ परेका छन्।
प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३:१५ बजे भारतको रक्सोलबाट काठमाडौं आउँदै गरेको बा २ च ७०७९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त धातु फेला पारेको हो।
प्रहरीका अनुसार कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर चाँदीजस्तो देखिने सेतो धातु लुकाइएको अवस्थामा फेला परेको थियो। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले कारमा सवार चारजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको रक्सोलनिवासी करिब ५० वर्षीय चालक रमेशकुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दादेवी सोनार, उनका १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनीकुमारी साह रहेका छन्।
प्रहरीले बरामद धातु र कारसहित पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ।
बरामद सेतो धातु वास्तविक रूपमा चाँदी नै हो वा अन्य धातु हो भन्नेबारे परीक्षण तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।