दाङ। दाङको घोराही–तुलसीपुर चारलेन सडकमा तिहारलगत्तै ग्राभेल गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीका इन्जिनियर सुनील ढुंगानाका अनुसार सडकको वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेकाले ती काम सम्पन्न हुनासाथ ग्राभेल सुरु गरिनेछ।
हालसम्म सडक निर्माणको भौतिक प्रगति १६ प्रतिशत र वित्तीय प्रगति १५ प्रतिशत पुगेको इन्जिनियर ढुंगानाले जानकारी दिए। उनका अनुसार हालसम्म करिब ४० करोड रुपैयाँबराबरको काम सम्पन्न भएको छ।
‘अहिले संरचना निर्माणको काम भइरहेको छ। त्यो पनि तिहारसम्म सकिन्छ, त्यसपछि ग्राभेलको काम सुरु हुन्छ,’ उनले भने।
ढुंगानाका अनुसार सडकमा १८ किलोमिटर वाल निर्माणको काम सम्पन्न भइसकेको छ भने नाली निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। यी काम सम्पन्न भएपछि ग्राभेल गर्ने काम अघि बढाइने उनले बताए।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको घोराही–तुलसीपुर सडक पुनः ठेक्का लगाएर निर्माण अघि बढाइएको हो। ०८२ असार २४ गते सम्झौता भएपछि नयाँ निर्माण कम्पनीले काम सुरु गरेको हो। यसअघि उक्त सडकको निर्माण पाँच वर्षसम्म अलपत्र परेको थियो। लामो समयसम्म सडक निर्माण नहुँदा स्थानीय नागरिकले सास्ती भोग्दै आएका थिए। अहिले पनि निर्माण कार्यमा केही समय ढिलाइ हुँदा सडक फेरि अलपत्र पर्ने हो कि भन्ने आशंका नागरिकमा देखिने गरेको छ।
तर, सडक निर्माणको काम नरोकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले बताए। उनका अनुसार दसैँका वेला मजदुरहरू घर गएकाले केही समय काम प्रभावित भएको थियो। दसैँ सकिएकाले अबको एक–दुई दिनमै काम पुनः सुरु हुने उनले जानकारी दिए। निर्माणमा खटिने मजदुरहरू फर्किन थालेको पनि उनले बताए।
घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म २१ किलोमिटर ५८ मिटर सडक चार लेनमा निर्माण गरिँदै छ। सडकको बिचमा मेडियन राखिनेछ भने दुवैतर्फ दुई–दुई लेन हुनेछन्। बजार क्षेत्रमा फुटपाथसहितको सडक निर्माण गरिनेछ भने अन्य स्थानमा चार लेनको सडक बनाइने प्रमुख विष्टले बताए।
सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी राजमार्ग परियोजनामार्फत ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइएको हो। सडक निर्माणको अनुगमन तथा रेखदेखको जिम्मेवारी सडक डिभिजन कार्यालय दाङले पाएको छ।
उक्त सडकको चौडाइ ३० मिटर हुनेछ। सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिनेछ। यस प्रविधिमा ढुंगा, गिट्टी र बिटुमिनको प्रयोग गरी सडक कालोपत्रे गरिन्छ, जसले सडकलाई टिकाउ बनाउन मद्दत गर्छ।
सम्झौताअनुसार सडक निर्माणको काम ३६ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ। ०८२ असार २४ गते भ्याटबाहेक दुई अर्ब २४ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। उक्त सडक ०८५ असारभित्र सम्पन्न गर्नुपर्नेछ। निर्धारित समयमै काम सक्ने गरी निर्माण अघि बढाइएको इन्जिनियर ढुंगानाले बताए।
यसअघि सडक चारलेनमा विस्तार गर्ने जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो। त्यसपछि ०८१ साउनदेखि नयाँ ठेक्का प्रक्रियाको तयारी सुरु गरिएको थियो। तत्कालीन अवस्थामा अर्थ मन्त्रालयबाट स्रोत सहमति र राष्ट्रिय योजना आयोगको निर्णयअनुसार तीन करोड ९९ लाख ४९ हजार रुपैयाँको बहुवर्षीय ठेक्काका लागि सहमति प्राप्त भएको थियो।
सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमान तयार गरी फागुन १ गते बोलपत्र आह्वान गरिएको थियो।
यस सडकखण्डमा पर्ने सेवार खोला, हापुर खोला, ग्वार खोला र कालाखोलामा चार लेनअनुसारका पुल निर्माणका लागि समेत प्रक्रिया अघि बढाइएको छ। सडक र पुल निर्माण सम्पन्न भएपछि घोराही–तुलसीपुर आवागमन सहज हुने अपेक्षा गरिएको छ।