सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष पक्राउ

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

लहान । सिराहाको गोलबजार नगरपालिका– ११, बलकवाका वर्तमान वडाध्यक्ष सोहेव अनवरलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको छ । 

सुनसरीको देवानगन्जमा पछिल्लो १० साउनमा भएको द्विपक्षीय समुदायको हिंसात्मक झडपको घटनाको चौथो दिन १४ साउनको अपराह्न एकजनाको ज्यान जाने गरी गोलबजारमा भएको घटनामा वडाध्यक्ष अनवर संलग्न रहेको प्रहरीको आरोप छ ।

सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरी थप अनसन्धान भइरहेको छ ।  

गोलबजारको तोडफोड तथा आगजनीको घटनामा वडाध्यक्ष अनवरले भड्काएको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामको हिन्दुवादी संस्थाआबद्ध केही व्यक्तिले घटनालगत्तै स्थानीय प्रहरीमा किटानी जाहेरी दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोलबजार घटनामा तोडफोड र आगजनीपछि  हिन्दुवादी संस्थाका केही व्यक्तिहरूविरुद्ध पनि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । 

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ६५ (१) अनुसार कसैले लेखेर, बचनले वा आकार वा चिह्नद्वारा वा अन्य कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरूबिचको सुसम्बन्धमा खलल पार्ने कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सुझावित समाचार