पराजित र असन्तुष्टलाई पनि कांग्रेसमा समेट्छौँ : गगन थापा

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले पार्टीभित्रका सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले महाधिवेशन प्रक्रियामा सहभागी नभएका र निर्वाचनमा पराजित भएका नेताहरूलाई समेत समेट्दै पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाधिवेशनको मतदानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कांग्रेसका प्रत्येक नेता तथा कार्यकर्ता महत्त्वपूर्ण रहेको उल्लेख गरे। पार्टीभित्र देखिएको असन्तुष्टिलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्ने उनको भनाइ थियो।

महाधिवेशन प्रक्रियामा सहभागी नभएको देउवा समूहप्रति संकेत गर्दै थापाले पार्टीको प्रक्रियाबाट बाहिर रहेका नेताहरूलाई पनि समेट्ने प्रयास गरिने बताए।

‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ। उहाँहरूलाई समेट्ने कोसिस गर्छौँ,’ उनले भने, ‘कोही पार्टी नै नयाँ खोलेर जान्छु भन्नुहुन्छ भने त्यो उहाँहरूको छनोट हो। तर, कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छौँ।’

थापाले महाधिवेशनमा प्रतिस्पर्धा गरेका र निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीमा उचित जिम्मेवारी दिएर अघि बढाइने बताए। कतिपयलाई केन्द्रीय समितिमा समेट्ने र कतिपयलाई अन्य जिम्मेवारी प्रदान गर्ने उनको भनाइ थियो।

‘कांग्रेसका प्रत्येक व्यक्ति महत्त्वपूर्ण छन्। कतिपय साथीहरूलाई केन्द्रीय समितिमा फेरि जोडेर ल्याउने होला, कतिलाई अरू जिम्मेवारी दिने होला। तर, सबैलाई समेटेर लिएर जाने हो,’ थापाले भने।

आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएको अनुभव सुनाउँदै उनले हारपछि पनि पार्टीमै रहेर काम गर्दा सफलता प्राप्त गर्न सकिने बताए। एकपटक निकै कम मत ल्याएर पराजित भए पनि निरन्तर पार्टीमा सक्रिय रहेपछि अर्को निर्वाचनमा धेरै मतसहित विजयी भएको उनले स्मरण गरे।

थापाले निर्वाचनमा हुने हारजितलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिए। चुनावी परिणामकै आधारमा राजनीतिक निर्णय र व्यवहार परिवर्तन गर्नु उचित नहुने उनको धारणा थियो।

‘निर्वाचनमा विजय–पराजयले राजनीतिक निर्णयहरू नै बदल्छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन। त्यो त अराजनीतिक चरित्र भइहाल्यो,’ उनले भने।

पार्टीभित्रको एकता कायम राख्दै असन्तुष्ट पक्ष र निर्वाचनमा पराजित नेताहरूलाई समेत समेटेर अघि बढ्ने थापाको अभिव्यक्तिले कांग्रेसभित्र सहकार्य र एकताको सन्देश दिने प्रयास गरेको छ।
 

सुझावित समाचार