धनगढी/ जिल्ला प्रहरी कार्यालय कैलालीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्थापनका लागि जिल्लाभर एक हजार १४६ प्रहरी परिचालन गरिएको जानकारी दिए। चाडपर्वको वेला हुने यात्रुको आवागमन, बजार, बैंक तथा वित्तीय संस्थामा हुने भिडभाड, सीमा क्षेत्रमा हुने आवागमन तथा धार्मिक, सांस्कृतिक गतिविधिलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना तयार पारिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाका विभिन्न स्थानमा पैदल गस्ती, मोबाइल गस्ती बढाइनुका साथै सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। त्यस्तै पिकेट, क्युआरटी, स्ट्राइकिङ तथा रिजर्भ टोलीहरू परिचालन गरिने छ। मुख्य बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, यात्रुको चाप हुने बसपार्कलगायत मान्छेको भिड बढी हुने क्षेत्रमा नियमित र आकस्मिक गस्ती बढाइनुका साथै विशेष निगरानी गरिने प्रहरीले जनाएको छ।
सम्भावित आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरेर आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरिने प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए। चोरी, तस्करी, लागुऔषध ओसारपोसारजस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर सीमा क्षेत्रमा विशेष निगरानी गरिने प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले चाडपर्वमा घर फर्कने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि जिल्लाका विभिन्न १२ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए। चोरी, लुटपाट, ठगी, जुवातासजस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि जिल्लाभरि नै सादा पोसाकमा प्रहरी परिचालन गरिनुका साथै बैंक, वित्तीय संस्था, सुनचाँदी पसल, व्यापारिक प्रतिष्ठानजस्ता आर्थिक कारोबार बढी हुने स्थानमा विशेष निगरानी गरिने तिमिल्सिनाले बताए।
आगलागी, सडक दुर्घटना, प्राकृतिक विपत्, आपराधिक घटना र अन्य कुनै आकस्मिक घटना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।