मकवानपुर । गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडा उपमहानगरपालिका– ३ का कन्टेनरचालक घनश्याम बस्नेतको परिवारले हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।
परिवारले सोमबार हेटौँडा उपमहानगरपालिका– १० स्थित राप्ती नदीकिनारमा उनको दाहसंस्कार गरेको हो। ‘मिलन’ नामले चिनिने बस्नेत रसुवागढी नाकाबाट सामान जाँचपास गरेर फर्कने क्रममा गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए। उनले मधेश प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चलाउँदै आएका थिए।
भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका बस्नेतको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो। मृतकका काका इन्द्रमानसिं बस्नेतका अनुसार सोमबार राप्ती नदीकिनारमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो।
घनश्यामको परिवारमा आमा, श्रीमती र छोरी छन्। परिवारको मुख्य आर्थिक आधार रहेका उनी बेपत्ता भएपछि परिवारले आर्थिक संकट झेलिरहेको छ। उनको अवस्थाबारे कुनै निश्चित जानकारी नआउँदा परिवार लामो समयदेखि अन्योलमा थियो।
भदौ १० गते रसुवामा आएको बाढीपछि मकवानपुरका धेरै व्यक्ति सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार बाढीमा बेपत्ता भएका जिल्लाका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन र प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ।
परिवारले अन्तिम संस्कार गरिसकेकासहित बेपत्ता व्यक्तिहरूको विवरण यकिन गरी मृत घोषणा गर्ने प्रक्रियाका लागि प्रशासनले काम गरिरहेको छ। प्राकृतिक विपत्तिपछि लामो समयसम्म अवस्था पत्ता नलागेका व्यक्तिका परिवारले भोग्नुपरेको अन्योल र पीडाबिच कानुनी प्रक्रिया अघि बढाउन थालिएको हो।