हेटौंडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटे चेकपोइन्टबाट भन्सार छली ल्याइएको चाँदीका गरगहना तथा सिक्कासहित चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको रक्सोलनिवासी करिब ५० वर्षीय कारचालक रमेशकुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दादेवी सोनार, १८ वर्षीय छोरा अजित साह सोनार र करिब २० वर्षीया भान्जी नन्दनीकुमारी साह रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १४ किलो १८० ग्रामको चाँदी र चाँदीजस्तै देखिने धातु बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो भारतको रक्सोलबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ च ७०७९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त सामग्री फेला परेको हो।
प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमान्डमा खटिएको टोलीले दिउँसो रातोमाटे चेकपोइन्टमा कार जाँच गरेको थियो। जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर विभिन्न किसिमका गरगहना तथा सिक्का लुकाइएको अवस्थामा फेला परेको हो।
बरामद सामग्रीको अनुमानित मूल्य ४० लाख ९६ हजार ६६१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गरगहना तथा सिक्का, कार र पक्राउ परेका चारैजनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि भन्सार कार्यालय वीरगन्जको पर्सा पठाएको जनाएको छ।