कास्की/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने सात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकको पृथ्वी राजमार्ग खण्डमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू मापसे र लापसे गरी सवारी चलाएको अवस्थामा भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय सिसुवा, वडा प्रहरी कार्यालय गगनगौँडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले चालकहरूले मादक पदार्थ तथा लागुऔषध सेवन गरे/नगरेको सम्बन्धमा जाँच गरेको थियो। जाँचका क्रममा ६ जना चालकले लागुऔषध र एकजनाले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
लागुऔषध सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएकामा ग १ ख ६१७१ नम्बरको बसका चालक लमजुङको बेँसीसहर नगरपालिका–२ का ३३ वर्षीय पवन परियार, ग १ ख ३२८२ नम्बरको बसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ का ३८ वर्षीय दीपक विक, ग १ ख ५१५३ नम्बरको बसका चालक तनहुँको म्याग्दे गाउँपालिका–५ का २८ वर्षीय अमृत नेपाली र ग १ ख ४२१७ नम्बरको बसका चालक तनहुँको भिमाद नगरपालिका–५ का २३ वर्षीय कृष्ण परियार छन्।
त्यस्तै, ग १ ख ८५४४ नम्बरको बसका चालक तनहुँको म्याग्दे गाउँपालिका–६ का ३० वर्षीय मनीष गुरुङ र ग १ ख ००८३ नम्बरको बसका चालक तनहुँको म्याग्दे गाउँपालिका–३ का २३ वर्षीय विवेक नेपालीले पनि लागुऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको अवस्थामा ग १ ख ९३९९ नम्बरको बसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का ५३ वर्षीय खिमबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सातैजना चालकविरुद्ध थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।