मलेसियामा नेपाली श्रमिक भर्नाको अन्योल हटाउन नेपालको पहल

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ मलेसियामा नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियामा देखिएको अन्योल हटाउन नेपालले संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई पत्राचार गर्दै आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा बैठक बस्न प्रस्ताव गरेको हो। मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने नेपालले जनाएको छ।

बैठकमा मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) अन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियासम्बन्धी विषयमा छलफल हुनेछ। साथै, वैदेशिक श्रम आप्रवासनका अन्य सवालमा पनि दुवै पक्षबिच संवाद गर्ने नेपालको प्रस्ताव छ।

नयाँ व्यवस्थाबारे सहमति नहुँदासम्म विद्यमान श्रमिक भर्ना प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा छ। यसले नेपाली श्रमिकको भर्ना प्रक्रियामा सहजता र निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई पारदर्शी, व्यवस्थित र श्रमिकमैत्री बनाउने विषयमा पनि छलफल हुनेछ। त्यस्तै, सन् २०१८ मा नेपाल र मलेसियाबिच भएको श्रमसम्बन्धी समझदारीपत्र नवीकरणका लागि तयार पारिएको मस्यौदालाई अन्तिम रूप दिने विषयलाई समेत एजेन्डामा समेटिएको छ।

नेपालले मलेसियासँगको श्रम सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली श्रमिकको हित संरक्षण तथा सुरक्षित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनमा जोड दिएको छ। दुवै देशको साझा हितअनुकूल श्रम सम्बन्धलाई अघि बढाउन कूटनीतिक पहल गरिएको सरकारले जनाएको छ।

सुझावित समाचार