
मेटा, गुगल, एक्सजस्ता अन्तर्राष्ट्रिय टेक कम्पनीहरूले गर्ने नेपाली प्रयोगकर्ताको तथ्यांक (डेटा) किनबेचमा पनि कर लाग्ने भएको छ । हाल यस्ता कम्पनीको कुल कारोबार मूल्यमा विद्युतीय सेवा कर (डिएसटी) लाग्दै आइरहेको छ । तर, अब डेटाको कारोबार मूल्यमा पनि कर लाग्ने भएको हो ।
आन्तरिक राजस्व विभागले विद्युतीय सेवा करको नयाँ कार्यविधि जारी गर्दै यस्तो व्यवस्था गरेको हो । हाल विद्युतीय सेवामा २ प्रतिशत कर लाग्दै आएको छ । अब तथ्यांकको कारोबारमा पनि २ प्रतिशत कर लाग्नेछ । कार्यविधिले कुल कारोबारमा जस्तै तथ्यांक कारोबारमा पनि ३० लाख रुपैयाँसम्ममा कर छुटको व्यवस्था गरेको छ ।
तथ्यांक कारोबारमा पनि ३० लाख रुपैयाँसम्ममा कर छुट दिइएको छ । त्यस्तै, कुल कारोबारजस्तै डेटा कारोबारमा पनि २ प्रतिशत कर लाग्ने उल्लेख छ ।
यद्यपि, स्वदेशी कम्पनीहरूले नेपालभित्रै गर्ने कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था गरिएको छ । ‘नेपालमा रहेका व्यावसायिक प्रयोगकर्तालाई व्यावसायिक प्रयोजनका लागि डिजिटल इन्टरफेसमार्फत गरेको बिक्रीको कारोबार र नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक नेपालमा रहेका व्यावसायिक प्रयोगकर्तालाई गरिएको बिक्रीको कारोबारमा कर नलाग्ने’ कार्यविधिमा उल्लेख छ ।
साथै, इन्टरनेट बजार स्थान (अनलाइन मार्केट प्लेस) सेवा र यसमार्फत वस्तु तथा सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्तिले वस्तु तथा सेवा दुवैको मूल्य जोडी कारोबार मूल्यमा समावेश गरी घोषणा गर्नुपर्नेछ । तर, त्यस्तो बजार स्थानबाट बासिन्दा व्यक्तिले वस्तु तथा सेवा आपूर्ति गरेको अवस्थामा भने सोबराबरको रकम गैरबासिन्दा व्यक्तिले आफ्नो कारोबार मूल्यमा समावेश गर्नुपर्नेछैन । यो कर प्रत्यक्ष कर भएकाले बिक्रीमूल्यमा करको रकम जोडेर असुलउपर गर्न नपाइने कार्यविधिमा उल्लेख छ ।
डिएसटी लगाउने मुलुकलाई अमेरिकी चेतावनीले तनाव
सूचना प्रविधि उद्योगमा प्रभुत्व जमाएको अमेरिकाले डिएसटी लगाउने मुलुकलाई अन्य वस्तु व्यापारमा महसुल लगाउने चेतावनी दिएपछि विद्युतीय सेवा कर लगाउने मुलुक अहिले तनावमा छन् । भौतिक उपस्थितिविना नै विभिन्न मुलुकमा बजार सञ्चालन गरिरहेका अमेरिकी ठुला टेक कम्पनीलाई विभिन्न देशमा आफूखुसी कर लगाएपछि अमेरिकाले यसको प्रतिवाद गर्ने बताएको हो ।
अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)ले संसारभरका सरकार, नीति–निर्मातासँगको अन्तर्राष्ट्रिय कर व्यवस्थालाई वैज्ञानिक र समान बनाउन प्रयासस्वरूप फ्रेमवर्क बनाएको छ । यसले विशेष गरी डिजिटल अर्थतन्त्रले निम्त्याउने कर चुनौतीलाई सम्बोधन गर्न दुईखम्बे नियम अघि सारेको छ । पहिलो खम्बामा नाफा वितरणका लागि नियम बनाइएको छ । भौतिक उपस्थितिविना नै बजार सञ्चालन गरिरहेका ठुला बहुराष्ट्रिय कम्पनीलाई कर तिर्नुपर्ने नियम यसमा पर्छ ।