मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार १o:५९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटना न्यूनीकरण गर्न मदन भण्डारी लोकमार्गको उदयपुरस्थित अँधेरी खण्डमा स्थानीयको सचेतना अभियान सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १o:५९:oo

अत्यधिक सवारी दुर्घटना हुने मदन भण्डारी लोकमार्गको उदयपुरको उदयपुरगढी गाउँपालिका– ७, अँधेरी–जोगीटोलखण्डमा दुर्घटना न्यूनीकरण गर्न स्थानीयले सचेतना अभियान चलाएका छन् । लोकमार्गको उदयपुरमा पर्ने अँधेरी खण्डमा सबैभन्दा धेरै दुर्घटना हुने गरेकाले स्थानीयहरूले सचेतना अभियान चलाएका हुन् । 

हिजो मंगलबारदेखि स्थानीय युवा, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, ट्राफिक प्रहरी र पत्रकारहरूले संयुक्त रूपमा सचेतनामूलक अभियान सुरु गरेका हुन्। सवारीचालकहरूलाई दुर्घटनासम्बन्धी जानकारी दिने र बढी दुर्घटनास्थल अँधेरी जोगीटोल भनेर चिनाउने अभियान सुरु गरिएको छ ।

स्थानीय युवा उद्यमी प्रह्लाद कार्कीले सवारीचालकहरूलाई सडक सुरक्षासम्बन्धी सचेतना फैलाएको बताए। अँधेरी जोगीटोल सडक दुर्घटना धेरै हुन सडक भएको भन्दै सवारीसाधन बिस्तारै र सावधानीपूर्वक चलाउन चालकहरूलाई अपिल गरेको उनको भनाइ छ । 

अभियानमा रौतामाई गाउँपालिका– ७ का वडाध्यक्ष मनोज राना मगर, उदयपुरगढी गाउँपालिका– ७ का वडाध्यक्ष भुवन केप्छाकी मगर, ट्राफिक प्रहरी, सामुदायिक वनका पदाधिकारी र पत्रकारहरूको टोली दिनभर खटेका थिए। अभियानमा खटेका नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सचिव तुलसी कोइरालाले भने, ‘अँधेरी क्षेत्रमा साना तथा ठुला दुर्घटना दैनिक हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न स्थानीयहरूको सहयोगमा अभियान सुरु गरिएको हाे । यो अभियान निरन्तर रूपमा आगामी साउन ३० गतेसम्म जारी रहन्छ ।’

केही दिनअघि मात्र अँधेरी जोगीटोल खण्डमा ट्रकको ठक्करबाट एक स्थानीयको मृत्यु भएको थियो । उनका अनुसार अभियान आगामी साउन ३० मा एउटा भेलाको आयोजना गरेर सम्पन्न हुनेछ । भेलामा सडक सरोकारवाला र सम्बन्धित निकायहरूको सहभागिता गराउने, सडकबारे जानकारी दिने तयारी स्थानीयले गरेको स्थानीय रमेश कार्कीले बताए ।

अँधेरी–जोगीटोलखण्डमा बढी दुर्घटना भएको भन्दै मदन भण्डारी लोकमार्ग हेर्ने गाईघाट–दिक्तेल सडक आयोजना कार्यालयले रम्बल स्ट्रिम पनि लगाएको थियो । तर, दुर्घटना न्यूनीकरण हुन सकेको छैन । पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएको धेरै समय भएको छैन, तर उदयपुर खण्डमा सवारी दुर्घटनाको दर निकै उच्च छ । 

उदयपुर खण्डमा पर्ने ९१ किलोमिटर दूरीमा जिल्ला ट्राफिक कार्यालय उदयपुरका निमित्त कार्यालय प्रमुख सइ प्रवीण कार्कीका अनुसार गएको आर्थिक वर्षमा २५० वटा सवारी दुर्घटना हुँदा २० जनाको मृत्यु, ४४६ जना घाइते भएका छन्। उनले भने, ‘अँधेरी–जोगीटाेल खण्डमा मात्र ३८ वटा दुर्घटना हुँदा १० जानको मृत्यु र १३४ जना घाइते भएका छन् ।’

कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०८३/८३ सुरु भएको साउनको २८ गतेसम्म मदन भण्डारी लोकमार्गमा आठ दुर्घटना हुँदा दुईको मृत्यु १० घाइते भएका छन् । जसमा अँधेरी–जोगीटोल खण्डमा तीन दुर्घटना र एक मृत्यु अनि पाँच घाइते भएका छन् ।

नेकपा (माओवादी केन्द्र) उदयपुरगढी गाउँपालिका गाउँ कमिटीका सचिव होमबहादुर बस्नेतले मदन भण्डारी लोकमार्गले उदयपुरको आर्थिक समृद्धिका लागि ढोका खुलेको बताउँदै दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला सबै लाग्नुपर्ने बताए। उनले भने, ‘अब पनि सम्बन्धित सरोकारवालाले सडकको भौगोलिक अवस्था परिवर्तन गरी घुमाउरोलाई सिधा बनाउन ध्यान दिनुपर्ने स्थानीयहरूको माग छ । त्यसपछि दुर्घटना न्यूनीकरण हुन्छ भन्ने आशा छ ।’

अँधेरीदेखि जोगीटोल खण्डमा एस आकारको बाङ्गोटिङ्गाे सडक छ । अनि बाक्लो जंगल, ओरालो बाटो र पानी परेको समय सडक सतह चिप्लो हुने गर्दछ । त्यसमा एस आकारको घुम्ती छ । निर्माण गरिएको रम्बल स्ट्रिमले दुर्घटना न्यूनीकरण हुन सकेको छैन । स्थानीय प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र सडक कार्यालयले दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू अपनाउँदै आएका छन् । जसमा जोखिमपूर्ण क्षेत्रमा चेतावनी बोर्ड राख्ने, संकेत रबर स्ट्रिम (स्पिड ब्रेकर) जडान गर्ने, र सडक संकेतहरू थप्नेजस्ता कार्यहरू भएका छन् । 

सडकको इन्जिनियरिङ त्रुटि र सवारीसाधनको तीव्र गतिलाई दुर्घटनाको प्रमुख कारण भएकाे सडक विज्ञहरूको भनाइ छ ।

चालकहरूले घुम्ती सडकमा समेत ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी, कतिपय अवस्थामा ८० किलोमिटर प्रतिघण्टासम्म गतिमा सवारी चलाउने गर्दा पनि दुर्घटना न्यूनीकरण नहुने गरेको बताइन्छ ।