मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २८ बुधबार o७:३६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली कम्पनीले हात पार्‍यो एमसिसी प्रसारणलाइनको ठेक्का

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o७:३६:oo
  • पौने ११ अर्ब रुपैयाँ लागतमा ‘न्यु दमौली–न्यु बुटवल प्रसारणलाइन’ निर्माण गर्ने जिम्मा स्वदेशी कम्पनी वाइवा–सलार जेभीलाई, बिहीबार सम्झौता हुँदै

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने ९० किलोमिटर लामो चार सय केभीको न्यु दमौली–न्यू बुटवल प्रसारणलाइन निर्माणको ठेक्का नेपाली कम्पनीले हात पारेको छ । नेपालको वाइवा–सलार जेभीले सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा उक्त परियोजना निर्माणको ठेक्का पाएको हो ।

एमसिसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले हात पारेको यो नै पहिलो ठेक्का हो । यसअघि एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणमा भएको ठेक्का विदेशी कम्पनीले पाएका छन् । मंगलबारको विनिमिय दर (प्रतिडलर १४०.५६ रुपैयाँ)अनुसार वाइवा–सलारले १० अर्ब ८२ करोड ७३ लाख रुपैयाँमा उक्त परियोजना बनाउनेछ ।

यो परियोजना निर्माणका लागि चार कम्पनी प्रतिस्पर्धामा थिए । भारतको ट्रान्सरेल लाइटिङले १० करोड १४ लाख २८ हजार डलर र एन्जेलिक–स्किपर जेभीले सात करोड ८९ लाख १६ हजार डलरमा काम गर्ने गरी टेन्डर हालेका थिए । भारतकै केइसी इन्टरनेसनलले वित्तीय प्रस्ताव उल्लेख नगरी टेन्डर पेस गरेको थियो । नेपाली स्वामित्वको वाइवा–सलार जेभीले भने सबैभन्दा कम अर्थात् सात करोड ७० लाख २६ हजार डलरमा काम गर्ने गरी टेन्डर पेस गरेको थियो । प्राविधिक रूपमा समेत उत्तीर्ण भएपछि कम्पनीले यो ठेक्का पाएको हो ।

आउँदो बिहीबार (२९ साउनमा) काठमाडौंमा एक समारोहबिच ठेक्का सम्झौता गर्ने तयारी छ । बिहीबार नै थप अर्काे प्रसारणलाइन निर्माणका लागि पनि ठेक्का सम्झौता हँुदै छ । ९० किमि लामो चार सय केभी क्षमताको रातमाटे–न्यु दमौली प्रसारणलाइन निर्माणका लागि भारतको एन्जेलिक–स्किपर जेभी छनोट भएको छ । उक्त कम्पनीसँग सात करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता गर्न लागिएको छ ।

एमसिसीअन्तर्गत चार सय १५ किमि प्रसारणलाइन बन्दै
एमसिसी अनुदानमा चार सय केभीका चार सय १५ किमि लामा चार प्रसारणलाइन बन्दै छन् । त्यसको निर्माणका लागि पहिलोपटक १२ मंसिर ०७९ देखि ७ जेठ ०८० सम्म ग्लोबल टेन्डर आह्वान गरिएको थियो । त्यसमा कम्पनीहरूले प्रस्ताव गरेको न्यूनतम वित्तीय प्रस्ताव अनुमानित लागतभन्दा ६६ प्रतिशत महँगो भएपछि २६ असोज ०८० मा उक्त टेन्डर रद्द गरेको थियो । त्यसपछि यसको डिजाइन परिवर्तन गरेर लागत घटाइएको थियो । 

१८ किलोमिटर लामो चार सय केभी क्षमताको ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन बनाउन भने १४ भदौ ०८० मा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । एक करोड २३ लाख ६० हजार डलरमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । त्यसपछि बाँकी दुई सय ९७ किमि प्रसारणलाइन निर्माणका लागि १२ मंसिरदेखि ७ फागुनमा टेन्डर आह्वान गरिएको थियो । त्यसमा आवश्यक प्रक्रिया पूरा गरेर दुई प्रसारणलाइनको ठेक्का सम्झौता गर्न लागिएको हो ।

लप्सीफेदी–हेटौँडा प्रसारणलाइनमा ६ कम्पनीको प्रस्ताव
प्रसारणलाइनतर्फ अब एक सय १७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारणलाइनको ठेक्का लाग्न बाँकी छ । यस परियोजना निर्माणका लागि ६ कम्पनीको प्रस्ताव आएको छ । नेपालका आशिष–बोजलार जेभीले १६ करोड १४ लाख ९४ हजार डलर र सगुन–सलार जेभीले ११ करोड १५ लाख आठ हजार डलरमा परियोजना बनाउने गरी प्रस्ताव पेस गरेका छन् । त्यस्तै, चिनको छिङदाओ हुइचिन्तोङ पावर इक्विपमेन्ट कम्पनीले नौ करोड ५८ लाख ५९ हजार डलर, टर्कीको सारा इनेर्जी इन्साट टिकेर एन्ड सारा टेक्नोलोजी जेभीले १४ करोड ९८ लाख १८ हजार डलर र भारतको ट्रान्सेल लाइटिङले १२ करोड १९ लाख ६९ हजार डलरमा काम गर्ने गरी प्रस्ताव पेस गरेको छ । भारतको केइसी इन्टरनेसनलले प्रस्ताव पेस गरे पनि वित्तीय प्रस्ताव उल्लेख गरेको छैन । हाल ठेकेदार छनोटको प्रक्रिया अघि बढिरहेको बताइएको छ ।