
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने ब्रान्च म्यानेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले ‘रिडिफाइनिङ सक्सेस’ नारासहित धुलिखेलमा सम्पन्न गरेको हो । कार्यक्रममा गत आवमा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहसहित कार्यक्रममा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीको सहभागिता थियो ।
अध्यक्ष सिंहले बिमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको अवस्थामा कम्पनीको व्यवसाय वृद्धि तथा तोकिएको लक्ष्य पूरा गर्ने सबै शाखालाई धन्यवाद दिइन् । सहभागी कर्मचारीलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न पूर्वबैंकर अनिलकेशरी शाहले नेतृत्व विकास तालिम दिएका थिए ।
यसैगरी नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरणबारे प्रशिक्षण दिए । गत आवमा उत्कृष्ट ठहरिएका शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।