
वसन्तपुर दरबार क्षेत्रमा रहेको हनुमानढोका प्रहरी कार्यालय भवन भत्काउने विवादले अन्तत: निकास पाएको छ । ०७२ को भूकम्पले जीर्ण बनेको उक्त भवन भत्काउनेबारे नेपाल प्रहरी, काठमाडौं महानगरपालिका र सम्पदाप्रेमीबिच मतभिन्नता रहँदै आएको थियो ।
काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा पुरानो भवन भत्काएर उक्त जग्गा महानगरलाई दिने र त्यसको सट्टा महानगरले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरो र उपत्यका प्रहरी कार्यालयलाई व्यवस्थित बनाउने गरी सर्तसहित मौखिक सहमति भएको हो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका आइजिपी दीपक थापाले जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काउनेबारे गत साता छलफल गरेका हुन् । सो क्रममा आइजिपी थापाले महानगरले नेपाल प्रहरीलाई नयाँ ठाउँ खोजिदिए उक्त भवन भएको जग्गा महानगरलाई दिने बताएका थिए । मेयर शाहले पनि जीर्ण भवन रहेको जग्गामा पोखरी बनाउने र नेपाल प्रहरीलाई अन्त जग्गा तथा ठाउँ खोजिदिने बताएका थिए । हाल हनुमानढोका प्रहरी कार्यालय र उक्त जग्गा नेपाल प्रहरीको नाममा छ । तर, सम्पदा क्षेत्रमा तगारो बनेको भन्दै उक्त जीर्ण भवन भत्काउनुपर्ने र सम्पदामैत्री संरचना बनाउनुपर्ने स्थानीयवासी र सम्पदाप्रेमीले माग राख्दै आइरहेका छन् । जीर्ण भवन भत्काउनुपर्छ र सम्पदामैत्री बनाउनुपर्छ भनेर सम्पदाप्रेमी यादवलाल कायस्थले सरकारी निकायको ध्यानाकर्षण गर्दै आइरहेका थिए ।
सम्पदाप्रेमी, स्थानीयवासी र सबैको ध्यानाकषर्णपछि उक्त भवन भत्काउनेबारे प्रहरी र महानगरबिच मौखिक सहमति भएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । उनका अनुसार दुवै निकायले एक–अर्कालाई ठाउँ दिने र समन्वय गर्नेबारे छलफल भएको छ । ‘रामशाहपथस्थित बग्गीखानामा १५ रोपनी हाराहारी सरकारी जग्गा छ, त्यहाँ महानगर प्रहरीलाई पनि ठाउँ दिने, महानगरले दुवैलाई सहज हुने गरी आधुनिक संरचना बनाउनुपर्छ,’ स्वकीय सचिव शाहले भने, ‘हनुमानढोका प्रहरी कार्यालयको जोखिमयुक्त भवनमा अझै केही प्रहरी बस्नुहुँदो रहेछ, तत्काल उहाँहरूलाई बस्ने ठाउँ पनि खोज्नुपर्छ भनेर नेपाल प्रहरीको तर्फबाट प्रस्ताव आएको छ, दुवैतर्फका सुरक्षा निकाय मिलेर अघि बढ्नुपर्छ ।’ उनका अनुसार महानगरले खाली ठाउँ खोजेर नेपाल प्रहरीलाई उपलब्ध गराउनेछ । त्यस्तै, अब हनुमानढोका प्रहरी कार्यालय क्षेत्रमा पोखरी बनाउनेबारे अध्ययन गरिने स्वकीय सचिव शाहको भनाइ छ । स्थानीयवासीका अनुसार हनुमानढोकामा प्रहरी बस्नुअघि उक्त स्थानमा सत्तलसमेत थियो । तर, समयक्रमअनुसार सत्तल हटाएर उक्त जग्गा नेपाल प्रहरीलाई दिई भवन बनाइएको थियो ।
वसन्तपुरस्थित कालभैरव मूर्तिको सामुन्ने हनुमानढोका प्रहरीको जीर्ण भवन छ । यो भवनमा तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौं बस्थ्यो । हाल जिल्ला प्रहरी परिसर काठमाडौं टेकु हुँदै राहशाहपथस्थित सुविधासम्पन्न भवनमा सरिसकेको छ । ०१२ देखि ०७२ सम्म परिसरको कार्यालय हनुमानढोकामै थियो । ०७२ सालको भूकम्पका कारण हनुमानढोकास्थित कार्यालयमा क्षति पुगेपछि टेकुमा सरेको थियो । भूकम्पले चर्किएको भवनमा अहिले पनि सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका पालामा उक्त भवन भत्काएर खुला गर्न टिप्पणी उठाइएको थियो । त्यसमा काठमाडौं महानगर, स्थानीयवासी, पुरातत्व विभागले हस्ताक्षर गरेका थिए ।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरो तथा उपत्यका ट्राफिक कार्यालय अव्यवस्थित भएकाले त्यसमा महानगरपालिकाले सहजीकरण तथा सहयोग गर्ने र वसन्तपुरको ऐतिहासिक क्षेत्रको जग्गा नेपाल प्रहरीले छाड्ने गरी मौखिक सहमति भएको बताए ।