
एनआइसी म्युचुअल फन्डअन्तर्गत ‘एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’ बिहीबारदेखि बिक्रीमा आउँदै छ । एनआइसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यो दोस्रो खुलामुखी योजना हो ।
क्यापिटलले प्रतिएकाइ १० रुपैयाँअंकित दरका १० करोड एकाइ बिक्रीमा ल्याउन लागेको हो । यसमध्ये कुल निष्कासन हुने एकाइको १५ प्रतिशत अर्थात् एक करोड ५० लाख एकाइ योजना व्यवस्थापक एनआइसी एसिया बैंकलाई सुरक्षित गरिनेछ । त्यस्तै, बाँकी आठ करोड ५० लाख एकाइमध्ये पहिलो चरणमा पाँच करोड एकाइ सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । लगानीकर्ताले योजनामा न्यूनतम १०० र अधिकतममा एक करोड एकाइ खरिदका लागि २ भदौसम्म आवेदन दिन पाउनेछन् ।
क्यापिटलका अनुसार खुलामुखी म्युचुअल फन्डमध्ये पहिलोपटक यो योजनामा मिनी एसआइपी (व्यवस्थित लगानी योजना) तथा एसटिपी (व्यवस्थित स्थानान्तरण योजना)जस्ता विशेषता छन् । क्यापिटलले सञ्चालन गरिरहेका म्युचुअल फन्डले उचित प्रतिफल वितरण गर्दै आएका छन् । व्यवस्थित तथा नियमित रूपमा लगानी गरी उचित प्रतिफल चाहनेहरूका लागि यो योजना लगानीको उपयुक्त विकल्प रहेको बताइएको छ ।
यस इक्विटी लिंक्ड इन्भेस्टमेन्ट योजनामा लगानी गर्ने लगानीकर्ताले निश्चित समयसम्म नियमित लगानी गरी ‘पावर अफ कम्पाउन्डिङ’को लाभ लिन सक्नेछन् । त्यसैगरी, पहिलोपटक पाँच सय रुपैयाँमै मिनी एसआइपी गर्न सक्ने सुविधा पनि यस योजनामा छ । साथै, अर्को खुलामुखी योजनामा लगानी स्थानान्तरण, निश्चित समयपछि आवश्यकताअनुसार नियमित रकम निकाल्न, क्षमताअनुसार थप रकम लगानी गर्न मिल्नेलगायतका सुविधा योजनामा समावेश रहेको क्यापिटको भनाइ छ ।