
सेरु नामको सिंह जंगलकै सबैभन्दा कुशल र क्रूर सिकारी मानिन्थ्यो । आफ्नो समूहका साथमा उसले कैयौँ अर्ना, हरिण र अन्य जनावरको सिकार गरेको थियो । समय क्रममा बिस्तारै सेरुमा आफ्नो क्षमता र बलको घमन्ड बढ्न थाल्यो । एक दिन उसले समूहका साथीहरूसित भन्यो– साथी हो, आजदेखि जुनसुकै जनावरको सिकार गरे पनि सबैभन्दा पहिले म खान्छु, अनि मात्र त्यसलाई तिमीहरूले हात लगाउन पाउनेछौ । सेरुको मुखबाट यस्तो कुरा सुन्दा सबै आश्चर्यचकित भए । एक वृद्ध सिंहले सेरुलाई प्रश्न ग¥यो– आज अचानक तिमीलाई के भयो ? तिमी के भनिरहेका छौ सेरु ?
सेरुले भन्यो— मैले अनौठो कुरा गरेको होइन । यहाँ जति पनि सिकार हुँदै आएका छन्, तिनमा सबैभन्दा ठुलो योगदान मेरै छ । मेरो शक्ति र हिम्मतले गर्दा नै हामीले सिकार गर्न सकेका हौँ । त्यसैले, सिकारमाथि पहिलो हक पनि मेरै हुनुपर्छ । अर्को दिन सिंहहरूको सभा बोलाइयो । अनुभवी सिंहहरूले सेरुलाई सम्झाउँदै भने— हेर सेरु, तिमी एक कुशल सिकारी हौ । तर, सबैको आ–आफ्नो क्षमताअनुसारको योगदानले गर्दा नै हामी सिकार गर्न सफल भएका हौँ । त्यसैले, सिकारमा सबैको बराबर हक हुनुपर्छ । यसमा जिद्दी नगर ।
सेरुलाई यो कुरा मन परेन । उसले भन्यो— ठिक छ, आजदेखि म एक्लै सिकार गर्छु । तिमीहरू मिलेर सिकार गर्नू । यति भनेर सेरु आफ्नो बाटो लाग्यो । केही समयपछि उसलाई भोक लाग्यो । उसले एक्लै सिकार गर्ने मन बनायो र नजिकै देखिएको अर्नाको झुन्डतिर गर्जँदै दौडियो । तर, पहिलेपहिले उसलाई देख्दा थरथर काँप्ने अर्नाले आज एकजुट भएर उसलाई भगाइदिए । त्यसपछि सेरु हरिणको झुन्डतिर अघि बढ्यो । तर, उसले फुर्तिला हरिणलाई फेला पार्नै सकेन ।
अब भने सेरुलाई आफू शक्तिशाली भए पनि समूहको साथविना सिकार गर्न सम्भव नभएको अनुभव भयो । उसलाई आफ्नो निर्णयमा पछुतो भयो । ऊ आफ्नो समूहमा फर्कियो र गल्ती स्विकारेर सबैसँग माफी माग्यो । समूहले पनि उसलाई माफी दियो । फेरि एकपटक जंगल सेरुको गर्जनबाट काँप्न थाल्यो ।