
पहिरोले थुनिएको कोशी राजमार्गअन्तर्गत संखुवासभाको मकालु–भोटखोला सडकखण्ड खुलेको छ । गएरातिदेखि परेको अविरल वर्षाले आज (बुधबार) बिहान मकालु गाउँपालिका– ३ एकुवामा पहिरो खसेर अवरुद्ध भएको सडकखण्ड एकतर्फी खुलेको उत्तर–दक्षिण कोशी सडक कार्यालय प्रमुख रामबहादुर गुरुङले बताए। उनले रातिदेखि परेको अविरल वर्षाले सडक अवरुद्ध भए पनि सडकको एक्स्काभेटर सोही ठाउँमा नै रहेकाले बिहानैदेखि खुलाउने प्रयासस्वरूप एकातर्फी सडक खुलेको बताए । अहिले साना ट्याक्सीहरू एकातर्फी आवातजावात भइरहेको उनको भनाइ छ।
खाँदबारीदेखि भोटखोलाको बरुणसम्म दैनिक सवारीसाधनहरू आवतजावत हुने गर्दछ । सडक अवरुद्ध हुँदा दर्जनभन्दा बढी सवारीसाधन रोकिएका थिए। गएराति रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो। पहिरोले सडक अवरुद्ध भएपछि बिहानभर आवतजावत ठप्प भएको थियो । उत्तर–दक्षिण कोशी सडक कार्यालयको एक्स्काभेटर सोही ठाउँमा भएकाले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको कार्यालयको भनाइ छ।
ठुला सवारीसाधन र दुवै तर्फी आवतजावत गर्न दिउँसोसम्ममा पूर्ण रूपमा सडक खुल्ने कार्यालय प्रमुख गुरुङको भनाइ छ। ‘म आफैँ पनि किमाथांका जान लागेको छु, पहिरोको अवस्था हेरेर किमाथांकासम्म सडकको अवस्था बुझेर फर्किन्छु,’ कार्यालय प्रमुख गुरुङले भने। जिल्लाको उत्तरी क्षेत्र मकालु र भोटखोला क्षेत्रमा अत्यधिक वर्षा हुने भएकाले छिटो–छिटो सडक बिग्रिने र अवरुद्ध हुने समस्या हुँदै आएको छ । मकालु– ३ एकुवाको पुल गत वर्ष जेठ ३१ गते आएको बाढीले बगाएपछि आवतजावतमा समस्या भइरहेको छ।