Skip This
रौतहटलाई हराउँदै एपिएफ लुम्बिनी कपको फाइनलमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका नेपालगंज
२o८२ बैशाख १० बुधबार १९:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रौतहटलाई हराउँदै एपिएफ लुम्बिनी कपको फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नेपालगंज
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १९:४९:oo

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो संस्करणको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार बाँकेको नेपालगंज रंगशालामा भएको दोस्रो सेमिफाइनलमा एपिएफले रौतहटलाई ३–० ले हरायो। पहिलो हाफ बराबरीमा रोकिएको एपिएफलाई जिताउन अनिता केसी, निशा थोकर र सविता रानामगरले समान एक गोल गरे।

एपिएफकी अनिता केसी खेलको प्लेयर अफ दि म्याच घोषित भइन्। उनले पाँच हजार प्राप्त गरिन्।

अब उपाधिका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल वैशाख १२ गते हुनेछ। मंगलबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो।

एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो। यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो।

राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले महिला लिगको उपाधि पनि जितेको थियो। तर, रौतहटविरुद्ध टोलीले गोलको लागि निकै संघर्ष गर्नुपर्यो। गोलकिपर उषासँगै युवा खेलाडीहरु सेनु परियार, सिमरन राई, सविता चौधरी, जेनिफर राना, पियाली राओले सानदार प्रदर्शन गरेपछि एपिएफ निकै दबाबमा परेको थियो।

७३औं मिनेटमा अनिता केसीले एपिएफलाई अग्रता दिलाईन्। वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको बललाई अनिताले सहज गोल गरेकी हुन्। ८०औं मिनेटमा निशाले हेडर गोल गरिन्। अनिता बस्नेतले कर्नरमा मिलाएको बललाई अनमार्क रहेकी निशाले सहजै गोल गरेकी हुन्।

९०औं मिनेटमा सविताले तेस्रो गोल गरिन्। सरु लिम्बूले करिब ३० यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार गोलकिपर उषा थापाले पञ्च गरिन्। सोही रिबाउन्ड बललाई निशाले गोल गरेकी हुन्। 

यसअघि समूह ‘बी’मा रहेको एपिएफले कर्णाली प्रदेशलाई ६–० तथा रौतहटले आयोजक बाँके ११ लाई ३–० ले नै हराएको थियो।

पहिलोपटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए। यसअघि पहिलो चरणबाटै आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश, कर्णाली, रौतहट र भारतको सिलिगुरी एफसी बाहिरिसकेका छन्।

आठ टोली सहभागी प्रतियोगिताको विजेताले  ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन्।