
लागुऔषध कारोबारको आरोपमा प्रहरीले धनकुटाबाट तीनजनालाई पक्राउ गरेको छ। विभिन्न प्रकारका लागुऔषध बेच्ने गरेको आरोपमा उनीहरूलाई घरैबाट पक्राउ गरेको हो।
पक्राउ परेकी धनकुटा नगरपालिका–७ की ५३ वर्षीया अञ्जना तामाङको साथबाट प्रहरीले लागुऔषध स्पास्रेस्ट ४५ गोटी, ट्रास्मोल ६ सय ५५ गोटीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए। यस्तै, सुनसरी धरान उपमहानगरपालिका–८ स्थायी घर भई धनकुटा नगरपालिका–७ स्थित ससुरालीमा बस्दै आएका २२ वर्षीय मनीष धाँमीलाई स्पास्पेन ५० गोटी र ट्रास्मोल दुई सय गोटीसहित प्रहरीले पक्राउ गरेको छ।
धनकुटा नगरपालिका–७ कै १९ वर्षीय ओम तामाङलाई पनि स्पास्रेस्ट ५५ गोटी, ट्रास्मोल ९० गोटी, स्पास्पेन ३ चक्की र स्पास्मिड सात चक्कीसहित घरैबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।