
सन् २००२ को विश्वकप विजेता ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोस नेपाल आएका छन् । दशरथ रंगशालामा चलिरहेको तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको विशेष पाहुनाका रूपमा कार्लोस नेपाल आएका हुन् । उनी केही समयअगाडि त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।
कार्लोसले एनएसएल लिग हेर्न गत शुक्रबार (५ वैशाख)मा नेपाल आउने कार्यतालिका थियो । तर, अप्रत्याशित परिस्थिति र अचानक स्वास्थ्यमा आएको समस्याका कारण उनी पूर्वनिर्धारित समयमा नेपाल आउने कार्यक्रम रोकिएको थियो।
सन् २००६ को विश्वकपको इटाली च्याम्पियन हुँदा उनले कप्तानी गरेका थिए । सन् २००२ मा ब्राजिलले पाँचौँपटक विश्वकप उपाधि उचाल्दा कार्लोसले प्रमुख डिफेन्डरको भूमिका निर्वाह गरेका थिए ।
१४ वर्ष ब्राजिलियन टोलीमा
ब्राजिलियन र विश्व फुटबल इतिहासमा कार्लोस उत्कृष्ट लेफ्ट ब्याकमध्ये पर्छन् । कार्लोसको विशेषता नै लामो दूरीबाट शक्तिशाली फ्रिकिक गोल गर्न सक्छन् । ब्राजिलको राष्ट्रिय टोलीमा उनले १४ वर्ष बिताए । सन् १९९२ देखि २००६ सम्म राष्ट्रिय टोलीमा रहँदा उनले १२५ अन्तर्राष्ट्रिय खेल खेले ।
यसक्रममा उनले १० गोल गरेका थिए । क्लबस्तरीय करिअरमा कार्लोसले विश्वचर्चित रियल म्याड्रिडमा ११ सिजन बिताए । सन् १९९६ देखि २००७ सम्म उनले रियलबाट ३७२ खेल खेले ।
यसक्रममा उनको नाममा रियलबाट ४८ गोल रह्यो । कुनै समयमा उनीसँगै डेभिड बेकह्याम, लुइस फिगो, जिनेदिन जिदान, काका र सिनियर रोनाल्डोजस्ता खेलाडी थिए ।