
चीनले आपत्कालीन अवस्थामा उद्धार कार्यलाई प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैसेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चिनियाँ विज्ञान एकेडेमी तथा अन्य साझेदार संस्थाको सहकार्यमा गरेको हो ।
यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरण जडान गरिएका छन् । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ ।
यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि छ ।