
चरम सुक्खाका कारण देशभरका वनजंगलमा डढेलो बढ्नुका साथै वायु प्रदूषण पनि उच्च भएका वेला मंगलबारदेखि वर्षा हुन थालेपछि केही राहत मिलेको छ । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मंगलबार र बुधबार पूर्वी र मध्य नेपालमा वर्षा भएको हो । वर्षाले यस क्षेत्रमा डढेलो केही घटाएको छ भने वर्षा भएका क्षेत्रमा तुवाँलो पनि कम गरेको छ ।
वायु प्रदूषणको चरम मारमा परेको काठमाडौं उपत्यकामा पनि केही ठाउँमा बुधबार दिउँसो वर्षा भयो । सबै ठाउँमा वर्षा नहुँदा प्रदूषण न्यूनीकरणमा उल्लेखनीय सुधार हुन सकेको छैन । वर्षा भएका वेला प्रदूषण केही घटे पनि राति वायुको गुणस्तर सूचकांक (एक्युआई) २०८ पुग्यो ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार वर्षा गराउने प्रणाली बिहीबार र शुक्रबार पनि कायमै रहने भएकाले प्रदूषण घटाउनमा मद्दत पुग्न सक्छ । ‘बुधबार उपत्यकाका साँखु, मूलपानी क्षेत्रमा राम्रो पानी प¥यो । तर, मध्य सहरमा खासै परेन,’ मौसमविद् झाले भने, ‘बिहीबार र शुक्रबार पनि वर्षाको सम्भावना छ । बुधबारभन्दा बिहीबार धेरै पानी पर्ने देखिन्छ । यसले पक्कै पनि केही दिनका लागि तुवाँलो हट्छ होला ।’
बुधबार साँखुमा २०.६ मिलिमिटर पानी परेको थियो । काठमाडौंमा २७ दिनपछि वर्षा भएको हो । यसअघि २९ फागुन र १ चैतमा वर्षा भएको थियो । १ चैतमा त्रिभुवन विमानस्थलको वर्षा मापन केन्द्रमा १.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । बुधबारै काठमाडौंबाहिर झापा, मोरङ, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, गोरखा, लमजुङ, कास्की र पाल्पाका केही ठाउँमा वर्षा भएको छ । त्यस्तै बाँके, जुम्ला, कालिकोट, मुगु, अछाम, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा पनि पानी परेको छ । मंगलबार पूर्वी र मध्य नेपालका केही ठाउँमा पानी परेको थियो ।
आज कहाँ–कहाँ वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । कोशीका तराईका केही स्थानमा पनि पानी पर्ने सम्भावना छ । मधेशका केही स्थानबाहेक वर्षाको आकलन गरिएको छैन । तर, बागमतीमा उपत्यकासहितका ठाउँमा वर्षा हुने देखिन्छ ।
डढेलो पनि घट्यो
मंगलबार र बुधबारको वर्षापछि डढेलो पनि घटेको छ । पानी परेका ठाउँमा डढेलो निभ्नुका साथै नयाँ ठाउँमा सल्किन नपाएको तथ्यांकले देखाउँछ । नासाको मोडिज उपग्रहले संकलन गरेको तथ्यांक हेर्दा पछिल्लो २४ घन्टामा २१ जिल्लाका ६० ठाउँमा मात्र डढेलो देखिन्छ । यसअघि पूर्वी र मध्य नेपालका सबैजसो जिल्लाका वनजंगलमा डढेलो थियो । तर, बुधबार भने पूर्वी नेपालमा फाटफुट डढेले देखिए पनि अन्यत्र निभेको छ । सबैभन्दा बढी डढेलो चितवनमा १४ ठाउँमा देखिन्छ । त्यस्तै, पर्सामा ११ ठाउँमा डढेलो छ । पानी पर्नुअघि सोमबार २४१ र आइतबार २४९ ठाउँमा डढेलो थियो ।