१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
२o८१ चैत २८ बिहीबार o६:२८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बक्यौता ‘यकिन गरेर उठाउन’ हितेन्द्रलाई ऊर्जामन्त्रीको निर्देशन

प्राधिकरणले यकिन गरेरै बिल काटिसकेको र अदालतले समेत त्यसलाई वैधानिकता दिइसकेको अवस्थामा मन्त्री खड्काले ‘यकिन गरेर उठाउन’ निर्देशन दिनुमा बिल सच्याउन खोजेको आशंका

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o६:२८:oo

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएसँगै ऊर्जामन्त्री दीपक खड्काले डेडिकेटेड फिडर र ट्रंकलाइनबापत विद्युत् प्रयोग गरेर वर्षौँसम्म महसुल नतिरेका उद्योगीलाई ‘छुट दिने’ कदम चालेका छन् । खड्काले बुधबार मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमै बोलाएर ‘बक्यौता यकिन गरेर उठाउन’ निर्देशन दिएका हुन् ।

उद्योगीहरूले तिर्नुपर्ने बक्यौता प्राधिकरणले पहिल्यै यकिन गरिसकेको र अदालतले समेत त्यसलाई वैधानिकता दिइसकेको अवस्थामा मन्त्री खड्काले फेरि ‘यकिन गरी’ भन्ने भाषा घुसाएर बक्यौता उठाउन निर्देशन दिनुले ‘बिल सच्याउन’ खोजेको आशंका देखिन्छ । मन्त्री खड्काले दिएको निर्देशनबारे उनको सचिवालयले प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूसँग डेडिकेटेड फिडर र ट्रंकलाइनको बाँकी बक्यौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ ।’

तर, प्राधिकरण आफैँले जारी गरेको बिल आफैँले सच्याउन मिल्दैन । अदालत वा अन्य कुनै अधिकारप्राप्त निकायको आदेश तथा निर्देशन चाहिन्छ । प्राधिकरणले जारी गरेको बिलविरुद्ध उद्योगीहरू यसअघि पनि अदालत गएका थिए । तर, उनीहरूले हालेको ९० भन्दा बढी मुद्दा खारेज भएका छन् । अर्थात्, प्राधिकरणले जारी गरेको बिल ठिक भएको पुष्टि अदालतले समेत गरेको थियो । यसअघि तिनै उद्योगीसँग बक्यौता उठाउन खोज्दा कुलमान प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री खड्काको तारो बनेका थिए । उद्योगीकै पक्षमा लागेर सरकारले कुलमानलाई पदमुक्त गरेको थियो । कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई ल्याएपछि मन्त्री खड्काले बक्यौता उठाउन निर्देशन दिएका हुन् । 

पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनको आधारमा टिओडी (टाइम अफ डे) मिटरअनुसार १५ दिनभित्र बक्यौता असुल गर्न गत २५ कात्तिकको मन्त्रिपरिषद्ले भनेको थियो । त्यसपछि कुलमानले पहिला पनि टिओडी मिटरकै आधारमा बिल काटेको भन्दै १२ मंसिरभित्र बक्यौता तिर्न उद्योगीलाई पत्राचार गरेका थिए । तर, मन्त्री खड्काले २ मंसिरमा बक्यौता जाँच गर्ने भन्दै तीन सदस्यीय जाँचबुझ समिति बनाएका थिए । त्यसपछि बक्यौता असुलीको प्रक्रिया रोक्न विद्युत् नियमन आयोगले निर्देशन दिएको थियो । जाँचबुझको नाममा उद्योगीको बक्यौता घटाउने ऊर्जामन्त्री खड्काको योजना थियो । तर, जाँचबुझको काम गर्ने अधिकार विद्युत् नियमन आयोगलाई मात्रै थियो । त्यसविरुद्ध रिट नै परेपछि ३ चैतमा सर्वाेच्च अदालतले उक्त जाँचबुझ समितिबाट काम नगराउन अन्तरिम आदेश दिएको थियो । त्यसपछि ११ चैतमा कुलमानले बक्यौता असुलीको प्रक्रिया अघि बढाउन सहमति माग्दै आयोगमा पत्रचार गरेका थिए । त्यही दिन सरकारले कुलमानलाई हटाएको थियो । 

कुलमानलाई बक्यौता उठाउन अवरोध गरेको सरकारले ‘बक्यौता नउठाएको’ भनेरै ११ चैतमा उनलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुुक्त गरेको थियो । कुलमानले उद्योगीबाट शतप्रतिशत बक्यौैता उठाउन चाहेका थिए । तर, सरकारले भने उद्योगीको पक्षमा लागेर बक्यौतामा छुट दिन खोजेको थियो । मुख्यतः यही विषयमा कुलमानले सहयोग नगरेपछि उनलाई हटाइएको थियो । 

उद्योगहरूलाई लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ सै घण्टा विद्युत् दिइएको थियो । त्यसमा ६५ प्रतिशत थप शुल्क (प्रिमियम) लिने भनिएको थियो । त्यसबाट विद्युत् प्रयोगका अधिकांश ग्राहकले प्रिमियमसहित महसुल तिरेका छन् । तर, केही सीमित उद्योगीले नियमित महसुल तिरे पनि प्रिमियम महसुल तिर्न पहिलादेखि नै आनाकानी गर्दै आएका छन् । अझै पनि ४९ उद्योगको सवा आठ अर्ब रुपैयाँ बक्यौता छ । त्यसमा ३४ उद्योग भने बक्यौता तिर्ने प्रक्रियामै आएका छैनन् । उनीहरूको मात्रै ६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बक्यौता छ । 

यी हुन् बक्यौता तिर्ने प्रक्रियामै नआएका ३४ उद्योग

  • जगदम्बा स्टिल – १ अर्ब ६० करोड १८ लाख
  • रिलायन्स स्पिनिङ मिल्स – ७५ करोड ३७ लाख
  • शिवम् सिमेन्ट – ६६ करोड ८८ लाख रुपैयाँ
  • मारुती सिमेन्ट – ५७ करोड ४५ लाख
  • घोराही सिमेन्ट उद्योग – ५० करोड ८५ लाख
  • अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज – ४४ करोड ८४ लाख
  • त्रिवेणी स्पिनिङ मिल्स – ३२ करोड १० लाख
  • सोनापुर मिनरल एन्ड आयल – २४ करोड ३० लाख
  • जगदम्बा सिन्थेटिक – २० करोड ५० लाख
  • बुटवल सिमेन्ट – १८ करोड ४५ लाख
  • अशोक स्टिल – १७ करोड ५८ लाख
  • हुलास स्टिल – १४ करोड १२ लाख
  • हिमाल आइरन एन्ड स्टिल – १३ करोड ६५ लाख
  • अरिहन्त मल्टिफाइबर लि. – ११ करोड ५३ लाख
  • युनाइटेड सिमेन्ट प्रालि – ११ करोड ३७ लाख
  • कसमस सिमेन्ट फ्याक्ट्री – ९ करोड ७७ लाख 
  • एभरेस्ट पेपर मिल – ९ करोड ४४ लाख 
  • रघुपति जुल मिल – ८ करोड ५१ लाख
  • अरिहन्त पोलिप्याक लि. – ६ करोड ६२ लाख
  • हामा आइरन – ५ करोड ८५ लाख
  • निगाले सिमेन्ट प्रालि – ५ करोड ८१ लाख
  • त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज – ४ करोड ४० लाख 
  • विशाल सिमेन्ट इन्डस्ट्रिज – ३ करोड ३५ लाख
  •  बाबा जुट मिल – २ करोड ४९ लाख
  • घराना फुड्स – १ करोड ८८ लाख
  • सिद्धार्थ पेटप्लास्ट – १ करोड ८३ लाख
  • एसआर फुड्स – १ करोड ४८ लाख
  • गोयन्का फुड्स रूपन्देही – १ करोड ४८ लाख
  • पञ्चकन्या स्टिल इन्डस्ट्रिज – ५२ लाख
  • श्याम प्लास्टिक उद्योग – ४९ लाख
  • भलवारी स्वचालित कारखाना – ३० लाख
  • पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज – २५ लाख
  • एभरेस्ट रोलिङ मिल – १७ लाख
  • एसआर स्टिल इन्डस्ट्रिज – १६ लाख