१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २८ बिहीबार o६:२२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपाको निष्कर्ष– रविमाथि राज्यको निर्मम प्रतिशोध

दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o६:२२:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रबाट निर्मम प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सभापति लामिछानेलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गरिएको भन्दै उनको दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी भएकोसमेत ठहर गरेको छ ।

‘उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेश स्विकार्दै आफैँ पक्राउमा सहयोग गर्ने सार्वजनिक घोषणा भइसकेको अवस्था र उच्च अदालतको आदेश कार्यान्वयन गर्न जिल्ला अदालत रुपन्देहीले प्रक्रिया सुरु नगर्दै २२ चैतमा गरिएको गिरफ्तारी कानुनविपरीत छ,’ कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बैठक निर्णय सुनाउँदै सञ्चारकर्मीहरूसँग भने, ‘२५ चैतमा मात्र जिल्ला अदालतमा उपस्थित गराई थुनुवा पुर्जी दिइएकाले दुई दिन तीन रातको हिरासत बसाइ स्वतः अवैध छ ।’ 

प्रहरीले निवासमा सभापतिमाथि गरेको गैरकानुनी र अमर्यादित व्यवहारले राज्यले निर्मम प्रतिशोध साधेको पुष्टि भएको रास्वपाको निष्कर्ष छ । ‘कानुनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई घर प्रवेश गर्नु र सभापतिले मागेपछि मात्र ढिला गरी दिनु, उच्च अदालतले आदेश गरिसकेको स्थितिमा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै अन्तिम इच्छा सोध्नुले प्रहरीको गैरव्यावसायिकता मात्रै प्रस्ट्याएको छैन र यसले कानुनकै धज्जी उडाएको छ,’ निर्णयमा भनिएको छ, ‘जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै प्रहरीले सभापतिलाई आफ्नै निवासबाट पक्राउ गर्न सक्रिय हुनु र त्यहाँ देखिएको व्यवहार झनै आपत्तिजनक छ । निवासमा गरिएको गैरकानुनी र अमर्यादित व्यवहारले राज्यको निर्मम प्रतिशोध पुष्टि गर्छ ।’ 

मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र : मानव अधिकार उल्लंघनकर्तामाथि छानबिन गरी कारबाही गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको मानव अधिकार उल्लंघन भएको दाबी गर्दै त्यसबारे आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रमुख सचेतक विराजभक्त श्रेष्ठसहितको टोलीले बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाउँदै औपचारिक ध्यानाकर्षण गराएको हो । 

कार्यवाहक महामन्त्री बुर्लाकोटीले आयोगमार्फत निष्पक्ष छानबिन भई आवश्यक कारबाही होस् भन्ने अपेक्षाका साथ ज्ञापनपत्र बुझाइएको बताए । कार्यवाहक महामन्त्री बुर्लाकोटीले आयोगबाट छानबिन भई आवश्यक कारबाही होस् भन्नका लागि ध्यानाकर्षण गराएको बताए । ‘राज्य संयन्त्र रातारात सक्रिय भई उहाँ (रवि लामिछाने)को सामान्य जीवनमा ठुलो हलचल ल्याउने उद्देश्यले उत्रिएको छ । हामी त्यसको घोर भत्र्सना गर्दछौँ ।

अन्य कुनै नागरिकले यस्ता अनुभव भोग्न नपरोस् भन्ने कामना राख्दै र देशमा पूर्ण मानव अधिकारको प्रत्याभूति होस् भन्ने मागसहित आयोगमा ज्ञापनपत्र बुझाएका हौँ,’ बुर्लाकोटीले भने । रास्वपाको  ध्यानाकर्षण–पत्रमा ‘शयन कक्षमै प्रवेश गरी अभद्र व्यवहार र धरपकड गरी प्रचलित कानुन र न्यायिक प्रक्रिया अवलम्बन नगरी गैरकानुनी रूपमा पक्राउ गर्दा उहाँको मानव अधिकारको गम्भीर उल्लंघन गरेकाले नेपालको संविधानले राष्ट्रिय मानव अधिकार आयोगलाई प्रत्यायोजन गरेको संवैधानिक अधिकार प्रयोग गरी उक्त घटनाको विस्तृत अध्ययन अनुसन्धान गरी दोषीलाई आवश्यक कारबाही गर्न अनुरोध गर्छौँ’ भनिएको छ । 

उच्च अदालतको आदेश प्रमाणित भएर जारी नहुँदै हातहतियारसहितका प्रहरीले अघोषित रूपमा घर सिल गरेर आतंकित वातावरणमा लामिछानेलाई पक्राउ गरिएको रास्वपाको आरोप छ । आयोग अध्यक्ष मगरले निवेदनउपर आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको पनि बुर्लाकोटीले बताए । 
यसअघि पनि १९ मंसिरमा मध्यराति चितवनबाट पोखरा लैजाँदा रविको मानव अधिकार हनन भएको भन्दै पत्नी निकिताले आयोगमा उजुरी दिएकी थिइन् । राति सडकमार्गमार्फत पोखरा लैजाँदा परिवारका सदस्य र कानुन व्यवसायीलाई जानकारी नदिएको, मानव अधिकारको गम्भीर उल्लंघन गरेको, आफ्नो टाउको दुखेको र निद्रा नपुग्दा, पे्रसर बढ्दाबढ्दै पनि औषधि खान नदिएको र स्वास्थ्य परीक्षणसमेत नगरिएको रविले आयोग टोलीसँग  बताएका थिए । त्यस्तै, राति सुतेको अवस्थामा मदिरा खाएका प्रहरी आई उठाएर, तानेर राति १२ बजेतिर कतै आफूलाई मार्ने त होइन भन्ने गरी चितवनबाट उठाएर ल्याइएको रविले पार्टी  नेताहरूलाई बताएका थिए । 

पोखरा पुर्‍याएपछि उनको रक्तचाप जाँच गर्दा १८०/९० देखिएको मानव अधिकार आयोगको टोलीले नै पुष्टि गरेको थियो । त्यसवेला जिल्ला अदालत कास्कीले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रविमाथि मानव अधिकारको उल्लंघन हुने कुनै कार्य नगर्न आदेश दिएको थियो । 

कवीन्द्र बुर्लाकोटी 
कार्यवाहक महामन्त्री

राज्य संयन्त्र रातारात सक्रिय भई उहाँ (रवि लामिछाने)को सामान्य जीवनमा ठुलो हलचल ल्याउने उद्देश्यले उत्रिएको छ । शयन कक्षमै प्रवेश गरी अभद्र व्यवहार र धरपकड भएको छ ।  प्रचलित कानुन र न्यायिक प्रक्रिया अवलम्बन नगरी गैरकानुनी पक्राउ भएको छ । यसले उहाँको मानव अधिकारको गम्भीर उल्लंघन भएको छ । विस्तृत अध्ययन अनुसन्धान गरी दोषीलाई आवश्यक कारबाही गर्न आयोगलाई अनुरोध गरेका छौँ ।