१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ चैत २८ बिहीबार o६:१५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

 त्रिवि उपकुलपतिको राजीनामा पत्र १३ दिनदेखि प्रधानमन्त्री कार्यालयमै अलपत्र

राजीनामा स्वीकृत भएन, उपकुलपतिलाई प्रधानमन्त्री कार्यालयबाट फोन पनि गएन

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o६:१५:oo

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले कुलपतिसमेत रहेका प्राधानमन्त्री केपी ओलीसमक्ष बुझाएको राजीनामा १३ दिनसम्म पनि स्वीकृत भएको छैन । दुई सातासम्म त्रिवि उपकुलपतिविहीन हुँदा प्रधानमन्त्री कार्यालयले बराललाई एकपटक फोनसम्म गरेको छैन । प्रधानमन्त्रीले काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर उनको सचिवालयलाई राजीनामा पत्र बुझाएका थिए ।

प्रधानमन्त्रीलाई प्रत्यक्ष फोन र म्यासेजमार्फत जानकारी गराएका थिए । राजीनामा पत्रमा ‘स्वास्थ्य ठिक नभएको’ व्यहोरा खुलाएपछि नयाँ पत्रिकासँगको अन्तर्वार्तामा उनले ‘प्रधानमन्त्रीको दबाब र हेपाइले राजीनामा दिन बाध्य भएँ’ भनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने अहिले आएर पनि उपकुलपति बरालको राजीनामा पत्रबारे कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएको छ । कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले भने, ‘त्यसबारे (उपकुलपतिको राजीनामा) मलाई जानकारी छैन, राजीनामा पत्र शिक्षा मन्त्रालयमा हुन सक्छ,’ उनले भने, ‘राजीनामा पत्र कुलपतिले स्वीकृत गर्ने हो वा मन्त्रिपरिषद्मा लैजानुपर्ने हो, त्यसबारे मलाई जानकारी भएन ।’ 

उपकुलपति बरालले राजीनामा दिने अघिल्लो दिन नै गाडी र पिएसओ फिर्ता गरेका थिए । अहिलेसम्म आफ्नो राजीनामा स्वीकृत नभएको र सरकारका कुनै मान्छेबाट पनि फोन नआएको बरालले बताए । ‘मैले त्यति वेला नै सुविधा फिर्ता गरेर राजीनामा दिएको हुँ, अझै स्वीकृत भएको छैन, प्रधानमन्त्रीज्यूले किन ढिलो गर्नुभएको हो, त्रिविमा झन् समस्या थपिँदै छन्,’ उनले भने, ‘काम गर्छु, त्रिवि सुधार्छु भनेर गएको हुँ, काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँ ।’

त्रिविका रेक्टर र रजिस्ट्रारले भने त्रिविमा फर्किन आग्रह गरेको उनले बताए । तर, प्रधानमन्त्रीकै कारण आफू राजीनामा दिन बाध्य भएका कारण फर्किने विषयमा नसोचेको बताए । ‘रेक्टर र रजिस्ट्रारले बोलाउनुभएको छ, तर म फर्किने कुरा भएन, मलाई हटाउनलाई नै प्रधानमन्त्रीज्यूले बेवास्ता गर्नुभएको थियो, फेरि त्यस्तै हेला भोग्न म किन फर्किनु ?’ उपकुलपति बरालले भने, ‘म राजीनामा स्वीकृतिको पर्खाइमा छु ।’ 

१० फागुन ०८० मा चार वर्षका लागि मेरिटअनुसार नै नियुक्त भएका बराल १३ महिनामै राजीनामा दिन बाध्य भएका थिए । उनी त्रिवि आएको छोटो समयमै केही सुधारहरू देखिएका थिए । त्रिविलाई दलीय भागबन्डाबाट मुक्त गराउँदै डिन नियुक्तिमा मेरिट शैली अपनाएका थिए । उनी उपकुलपति बनेपछि त्रिविको शैक्षिक क्यालेन्डर पनि बन्यो । परीक्षा तालिका र नतिजा ट्र्याकमा ल्याए । त्रिविको जग्गासम्बन्धी प्रतिवेदन पनि उनकै पालामा सार्वजनिक भयो ।