
भोलि बुधबार हुने महाशिवरात्रि पर्वपूर्व मंगलबार बिहान जलेश्वरमा कलशयात्रा निकालिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको ब्यान्डसहित निकालिएको उक्त कलशयात्रामा सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिका साथै विभिन्न विद्यालयका बालबालिकाहरूले सहभागिता जनाएका छ्न् ।
जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्राले नगर परिक्रमा गरेको हो । नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहित विभिन्न सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र आमनागरिकलगायतको उपस्थिति रहेको कलश शोभायात्रामा शिव नाटकसमेत प्रदर्शनी गरिएको हो । आज मध्यरातदेखि नै शिव गुफा दर्शनका लागि खुला रहनेछ ।
सोही दिन मनाइने सेना दिवसको अवसर पारेर जलेश्वरनाथ महादेव मन्दिर, मन्दिरपरिसर सोमबर सरसफाइ गरिएको थियो । जलेश्वर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महाशिवरात्रि मेला आयोजना समिति, विद्यालयहरू तथा नागरिक समाज एवं विभिन्न संघसंस्था र निकायहरूको सहयोगमा मन्दिर र नगरलगायतका स्थलहरूको सरसफाइ गरिएको हो ।
परापूर्वकालदेखि नेपाली सेना तथा सशस्त्र प्रहरीको सहयोगमा शिवलिंग अवस्थित जलगुफाभित्रको जल बाल्टीले नै निकालेर शिवलिंगको प्रत्यक्ष दर्शन गराउने गरिएको छ । शिवरात्रिको दिन र हरेक महिनाको पहिलो र अन्तिम सोमबारबाहेकका दिनमा जलगुफाको जल निकाल्न वर्जित छ ।