
बर्दिया राष्ट्रिय निकुञ्जले सर्वसाधारणका लागि निकुञ्ज खुला गरेको छ । मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक पर्ने खरखडाइका लागि निकुञ्ज खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
निकुञ्जको अनुमतिविना प्रायः प्रवेश पाइँदैन । तर निकुञ्जले प्रत्येक वर्ष खरखडाइका लागि निकुञ्ज खुला गर्ने गर्छ । जसले गर्दा निकुञ्ज आसपासका धेरै स्थानीयवासीले निकुञ्जले तोकेअनुसारको आफूलाई आवश्यक पर्ने सामानहरू ल्याउने गर्छन् ।
निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्थाअनुसार निकुञ्ज आसपासका बासिन्दालाई खरखडाइका लागि प्रवेश दिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ अधिकृत सरोजमणि पौडेलले बताए । उनले भने, ‘बर्सेनि निकुञ्जले खरखडाइका लागि निकुञ्ज खुला गर्ने गरेको छ । सोहीअनुसार यस वर्ष खरखडाइका लागि फागुन ९ र १० गते निकुञ्ज खुला गरिएको छ । ८२ स्थानबाट निकुञ्ज प्रवेश लागि अनुमति दिएको छ । सोहीअनुसार नेपाली सेनालगायतको जनशक्ति परिचालन गरी सुरक्षाको समेत व्यवस्था मिलाइएको छ ।’
ठाकुरबाबा नगरपालिका– २ मुन्सिराम थारूले खरखडाइका लागि निकुञ्ज खुला गर्दा आफूलाई आवश्यक पर्ने घाँस, खरलगायतका सामग्री ल्याउन सहज भएको बताए । उनले भने, ‘निकुञ्जले प्रत्येक वर्ष खरखडाइका लागि एक सय रुपैयाँ लिएर निकुञ्ज खुला गर्छ । वनमा खेर जाने खर, वनकस तथा झिनामसिना दाउरा ल्याउन पाइन्छ । जसले गर्दा धेरै सजिलो हुन्छ ।’ निकुञ्जले खरखडाइका लागि नियमको पालना गर्ने गरी १२ हजारभन्दा बढीलाई प्रवेशको अनुमति दिएको छ ।