
हामीहरू आज (सोमबार) आमा र बुबासहित घर आइपुगेका छौँ । काठमाडौंबाट हामी आफैँ गाडी रिजर्भ गरेर आएका हौँ । बरहथवा बजार आएपछि भने प्रहरीले स्कर्टिङ गरेर घरसम्म ल्यायो । सहायक सिडिओ, प्रहरीका एसपी, सशस्त्रका डिएसपीलगायत पनि बजारबाट हामीसँगै घर आइपुग्नुभयो । एसपी सापले ‘तिमीहरूलाई बम्बईसम्म पुगेर लखेटेर पक्राउ गरेको विषयमा त मलाई थाहै थिएन, न्युजमा आएपछि मात्रै थाहा पाएँ’ भन्नुभयो । उहाँहरूले यहाँ (घरमा) रहँदासम्म सुरक्षा दिन्छौँ भन्नुभएको छ । घरमा २४सै घण्टा सुरक्षाका लागि भनेर दुईजना प्रहरी खटाइदिनुभएको छ । हामी कतै जानुपरे पनि उनीहरूले सँगै सुरक्षा दिने भन्नुभएको छ ।
आइजिपी सरले बुबालाई छोरा–बुहारी घर लैजानुस् भन्नुभएछ । अनि हामी परिवारमा सल्लाह गरेर आएका हौँ । प्रहरीको सुरक्षा दिएर मात्रै हामीलाई शान्ति हुँदैन । अदालतमा बालविवाहको झुटा मुद्दा छ । घरमा आउनुभएका सहायक सिडिओ, एसपीहरूसँग हामीले यो कुरा पनि राख्यौँ । उहाँहरूले मुद्दा खारेज गराउन पहल गर्छौँ भनेर आश्वासन दिनुभएको छ । तर, त्यो झुटा मुद्दा भएकाले खारेजभन्दा पनि फिर्ता लिनुपर्छ भन्ने हाम्रो माग छ । उहाँहरूले अदालतमा कुरा गर्छौँ भन्नुभएको छ ।
हामीमाथि अन्याय गर्नेलाई पनि छानबिन गरेर कारबाही होस् । शान्तिसुरक्षा दिनुपर्ने ठाउँमा बसेर उल्टै अन्तरजातीय विवाह गरेकै नाममा यत्रो अत्याचार गरे । हामी बम्बई जाँदा केही आधिकारिक–पत्रसहित आदेश गरिएको भए हामी आफैँ प्रहरीमा उपस्थित हुन्थ्यौँ । तर, विनाकागज, सिभिल डे«समा गएर प्रहरीले जबर्जस्ती पक्राउ गर्यो, कुटपिट गर्यो । त्योभन्दा अत्याचार के हुन्छ ? ती दुवै प्रहरीलाई मात्रै होइन, उनीहरूलाई निर्देशन दिने आइजिपी र गृहमन्त्रीलाई पनि कानुनी दायरामा ल्याएर छानबिन गर्नुपर्छ । संलग्न देखिने सबैलाई कारबाही हुनुपर्छ । नत्र त भोलिका दिनमा समेत हामीमाथि जे पनि गर्न सक्छन् । हामीजस्तै अरूमाथि पनि यस्तो अन्याय नहोस् भन्नका लागि पनि दोषीलाई कारबाही गर्नुपर्छ ।
बिवाह दर्तापछि पनि बालविवाहको मुद्दा दर्ता गर्नेमाथि कारबाही होस् । एउटा अदालतमा विवाह दर्ता भइसकेपछि अर्को अदालतमा कसरी बालविवाहको मुद्दा दर्ता भयो ? अनि कागजात केही नहेरी कसरी धरौटी माग गरियो ? यो विषय सामान्य त होइन नि !
राज्यले गरेको खेलवाडले हाम्रो पढाइ दुई वर्ष क्षति भइसक्यो । हामीले पढाइ अगाडि बढाउन पाउनुपर्यो । भोलि बाटोमा हिँड्दा होस् कि केही गर्दा हामीलाई कुनै प्रकारको झमेला नहोस् । त्यसैले, तत्काल मात्रै होइन, दीर्घकालीन शान्तिसुरक्षा चाहियो । यसका लागि हामीमाथि अन्याय गर्नेहरूमाथि कारबाही हुनुपर्छ ।
प्रहरीहरू मेरो (नेहा) बुवाको खर्चमा बम्बईसम्म हामीलाई पक्राउ गर्न गएका छन् । उनीहरूले बुवाको करोडौँ सकाएका छन् । प्रहरीले अनुसन्धानका नाममा व्यक्तिको पैसा लिन मिल्छ ? यहाँ त मेरो बुवा पनि पीडित हुनुहुन्छ ।
प्रहरीले खोसेर लगेको सर्टिफिकेट र गरगहना अहिलेसम्म फिर्ता दिएको छैन । मानव अधिकार आयोगले बयानमा बोलाएर एसपी रुगम कुँवरलाई यसबारे सोधेको रहेछ । कुँवरले सर्टिफिकेट र गरगहना केटी (नेहा)को परिवारलाई दिएको बताएको भनेर हामीलाई आयोगका अधिकारीले भनेका छन् ।
तीन–चार महिनादेखि घर रित्तो थियो । आमा (गीतादेवी)विरुद्ध पनि बालविवाहको मुद्दा दायर भएपछि उहाँ पनि विस्थापित हुनुपरेको थियो । अहिले घर फर्किएर आउँदा धेरै कुरा बिग्रिएको छ । बत्ती, पानीको कललगायत सबै बर्बाद भइसकेको रहेछ ।