
आफ्नै अलग सैन्य सामर्थ्यका बाबजुद नेटो अझै पनि युरोपको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकामा अत्यधिक निर्भर छ
गत साता लन्डनमा भेला भएका युरोपेली नेताहरूले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न मिलेर अघि बढ्ने घोषणा गरे । त्यस क्रममा उनीहरूले फेब्रुअरी २०२२ देखि रुसी आक्रमण भोगिरहेको युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने पनि वाचा पनि गरे । सो बैठक युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्कीपूर्ण बैठक भएपछि हुँदै थियो । ह्वाइट हाउसको तनावपूर्ण बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले रुससँग विनासर्त युद्धविराम गर्न नमानेकोमा लाइभ टिभीमा जेलेन्स्कीको आलोचना गरेका थिए ।
हुन त ट्रम्पले जेलेन्स्कीसँगको भेटघाटअघि नै आफ्नो देशले युक्रेनलाई अब सुरक्षा ग्यारेन्टी दिन नसक्ने बताइरहेका थिए । युक्रेनको सुरक्षाको जिम्मेवारी युरोपले लिनुपर्ने उनले भन्दै आएका छन् । तर, ट्रम्पले भनेजस्तै अमेरिकाको संलग्नताविना युरोपले साँच्चै युक्रेनलाई सुरक्षा प्रदान गर्न सक्छ ? अनि अहिले युरोपको सुरक्षा क्षमता कस्तो छ ? युरोपको सुरक्षा क्षेत्र कति हदसम्म अमेरिकाको सहयोगमा निर्भर छ ? अमेरिकाको सहयोगविना युरोपमाथि रुसले कस्तो खतरा छ ? हामी त्यसैको चर्चा गर्दै छौँ ।
युरोपेली सुरक्षामा अमेरिकाको भूमिका
दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै युरोपेली सुरक्षामा अमेरिकाको भूमिका अहं रहँदै आएको छ । अमेरिकाकै पहलमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) निर्माण भयो । सोभियत प्रभाव रोक्न युरोपमा लाखौँ अमेरिकी सैनिक तैनाथ गरिए । अमेरिकाले त्यसवेलादेखि नै युरोपको सुरक्षामा नेतृत्वदायी भूमिका कायम राख्दै आएको छ । अमेरिकी सरकारको स्वामित्वमा रहेको ‘डिफेन्स म्यानपावर डेटा सेन्टर’अनुसार जुलाई २०२४ मा युरोपभरि स्थायी रूपमा लगभग ६५ हजार अमेरिकी सैनिक तैनाथ थिए ।
त्यसअतिरिक्त ठुलो स्तरमा अमेरिकी हतियार, रक्षा प्रणाली र नेटोका लागि आवश्यक अन्य सामग्री पनि त्यहाँ थिए । युरोपका ६ स्थानमा रहेका अमेरिकी हतियार भण्डारण छन्, जहाँ तोप र बख्तरबन्द सवारी साधन राखिन्छ । त्यस्तै अमेरिकाको आठ वायु सेनाको टुकडी, चार नेभल डिस्ट्रोयर्स र अनुमानित १०० आणविक बम युरोपमा तैनाथ छन् । यसका साथै अमेरिकाले नेटोको पूर्वी शाखाको मुख्य हिस्सा मानिने पोल्यान्डमा आलोपालो गरेर लगभग दश हजार सैनिक तैनाथ गर्दै आएको छ । आफ्नो सैन्य बललाई सघाउन अमेरिकाले विशाल रक्षा बजेट छुट्याउने गर्छ । सन् २०२४ मा अमेरिकाको रक्षा बजेट ८६० अर्ब डलर थियो । अमेरिकाको रक्षा बजेट नेटोका बाँकी सबै सदस्यहरूको कुल बजेटको दोब्बरभन्दा बढी हो ।
- दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै युरोपेली सुरक्षामा अमेरिकाको भूमिका अहं रहँदै आएको छ । अमेरिकाकै पहलमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) निर्माण भयो । सन् २०२४ जुलाईमा युरोपभरि स्थायी रूपमा लगभग ६५ हजार अमेरिकी सैनिक तैनाथ थिए । त्यसअतिरिक्त युरोपको सुरक्षाका लागि भन्दै ठुलो परिमाणमा अमेरिकी हतियार र रक्षा प्रणाली पनि त्यहाँ राखिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता अमेरिकाले युक्रेनको प्रतिरक्षालाई भन्दै ६५ अर्ब डलर सैन्य सहयोग पठाइसकेको छ, जुन युक्रेनले पाएको प्रत्यक्ष सैन्य सहयोगको झन्डै आधा हो । अन्य प्रकारका सहायतासमेत जोड्ने हो भने अमेरिकाले सेप्टेम्बर ३०, २०२४ सम्म युक्रेनलाई झन्डै १८३ अर्ब दिइसकेको छ । उता, युरोपेली संघले आफ्नो तर्फबाट युक्रेनलाई कुल १४१ अर्ब डलरको सहायता पठाएको युरोपेली आयोगले जनाएको छ । त्यसमा ५१ अर्ब डलर मात्र प्रत्यक्ष सैन्य सहायता हो । अमेरिका युरोपबाट सैन्य रूपमा पछि हट्ने समय आएको ट्रम्पले बताएका छन् । युरोपले आफ्नो प्रतिरक्षाको जिम्मेवारी आफैँले उठाउने समय आएको उनको भनाइ छ ।
‘कठोर रणनीतिक वास्तविकताले अबका दिनमा अमेरिकालाई युरोपको सुरक्षामा केन्द्रित हुनबाट रोक्छ, ‘ट्रम्पका रक्षामन्त्री पिट हेगसेथले फेब्रुअरी १२ मा नेटो बैठकमा आफ्ना साझेदारसामु घोषणा गर्दै भने, ‘युरोपेली सहयोगीले अब आफ्नो सुरक्षाको नेतृत्व आफैँले गर्नुपर्छ ।’
नेटोका युरोपेली सहयोगी कति बलिया ?
नेटोका युरोपेली सदस्यसँग संयुक्त रूपमा २० लाख सक्रिय–कर्तव्य सैनिक छन् । त्यसमध्ये एक सानो हिस्सालाई गठबन्धनको कमान्डमा प्रत्यक्ष रूपमा खटाइएको हुन्छ । नेटोको पछिल्लो अनुमानअनुसार टर्किए र पोल्यान्डसँग क्रमशः चार लाख ८१ हजार र दुई लाख १६ हजार सैनिक छन् । त्यसपछि धेरै सेना भएका नेटो सदस्य फ्रान्स र जर्मनी हुन्, जहाँ क्रमशः दुई लाख पाँच हजार र एक लाख ८६ हजार सैनिक छन् । भविष्यमा शान्ति सम्झौतापछि युक्रेनको सुरक्षाका लागि त्यहाँ शान्ति सेना पठाउने प्रस्ताव गरेको बेलायतसँग एक लाख ३८ हजार सैनिक छन् । त्यसबाहेक नेटोको पूर्वी शाखामा अलग ४० हजार सेना तैनाथ छन् । यस शाखामा इस्टोनिया, लात्भिया, पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र बुल्गेरिया पर्छ । ग्लोबल फायरपावर डिफेन्स इन्डेक्सका अनुसार नेटोका युरोपेली सदस्यसँग लगभग सात हजार विमान, ६ हजार ८०० तोप, दुई हजार १७० सैन्य जहाज र ६ वटा युद्धक विमान बोक्ने वाहन छन् ।
अमेरिका पछि हटे नेटोको अवस्था कस्तो होला ?
आफ्नै अलग सैन्य सामर्थ्यका बाबजुद नेटो अझै पनि युरोपको सुरक्षाका लागि अमेरिकामा अत्यधिक निर्भर छ । रुसजस्तो शक्तिबाट कुनै युरोपेली नेटो सदस्यमाथि ठुलो आक्रमण भएमा अमेरिकाले युरोपको प्रतिरक्षामा लाखौँ अतिरिक्त सेना पठाउने नेटोको अपेक्षा हुने आर्थिक थिंक ट्यांक ब्रुगेल बताउँछ । युरोपले पाउँदै आएको अमेरिकी सहयोग रोकिएको अवस्थामा सिर्जना हुने खाडल पुर्न युरोपले ५० वटा नयाँ सैन्य ब्रिगेड निर्माण गर्नुपर्ने ब्रुगेलले अनुमान गरेको छ ।
चिन्तित, युरोपेली राज्यले आफ्नो रक्षा खर्च बढाउन दबाब महसुस गरिरहेका छन् । गत हप्ता मात्र बेलायतले सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ उत्पादन (जिडिपी)को २.५ प्रतिशत पु¥याउने घोषणा गरेको थियो । बेलायती प्रधानमन्त्री केयर स्टारमरका अनुसार यस वृद्धिले रक्षा बजेटमा प्रत्येक वर्ष लगभग १६ अर्ब डलर थपिनेछ । अहिले ब्रिटिस रक्षा बजेट ६८ अर्ब डलर छ ।
सन् २०२२ मा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि जर्मनीले राष्ट्रिय सेनाको स्तरोन्नति र सुदृढीकरण गर्न १०० अर्ब डलरभन्दा बढीको विशेष कोष घोषणा गरेको थियो । घोषणापछि जर्मनीको वार्षिक रक्षा बजेट करिब ५२ अर्ब डलर पुगेको छ । गत वर्ष शीतयुद्धको अन्त्यपछि पहिलोपटक सो देशको रक्षा बजेट जिडिपीको दुई प्रतिशत पुगेको थियो । सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया कब्जा गरेपछि नेटोले लिएको लक्ष्यअनुरूप हरेक सदस्यले रक्षा बजेट जिडिपीको दुई प्रतिशत नघाउने भन्ने थियो । जर्मनीका सम्भावित सरकार प्रमुख (चान्सलर) फ्रेडरिक मर्जले डिसेम्बरको एक भाषणमा भविष्यमा देशको सेनालाई ‘बर्सेनि कम्तीमा ८४ अर्ब डलर’ चाहिने बताएका थिए ।
युक्रेनमा रुसी आक्रमणपछि युरोपभरका नेटो सदस्य र क्यानडाको रक्षा खर्च अभूतपूर्व १८ प्रतिशतले बढेको छ । अहिले नेटोका ३० युरोपेली सदस्यमध्ये २२ ले सन् २०२३ मा गरेको वाचाअनुसार आफ्नो जिडिपीको कम्तीमा दुई प्रतिशत रक्षामा खर्च गर्छन् । यसका बाबजुद ट्रम्पले यति पनि पर्याप्त नभएको बताइरहेका छन् । उनले नेटो सदस्यलाई तिनको जिडिपीको कम्तीमा पाँच प्रतिशतमा रक्षा खर्च बढाउन आह्वान गरेका छन् । नेटो महासचिव मार्क रुटले पनि युरोपेली सदस्यले थप खर्च बढाउनुपर्ने आवश्यकतालाई स्वीकार गरेका छन् । ‘बर्लिनको पर्खाल ढलेपछिका समयमा हामीले पर्याप्त रकम योगदान गर्न सकेका छैनौँ । अमेरिकाले सही रूपमा पुनः सन्तुलनका लागि अनुरोध गरिरहेको छ । यो पूर्णतः तार्किक माग हो,’ रुटले फेब्रुअरी १५ मा म्युनिख सुरक्षा सम्मेलनको साइडलाइनमा अमेरिकी न्युज आउटलेट ‘पोलिटिको’लाई भने ।
रुसले नेटोलाई कसरी हेर्छ ?
रुसले युक्रेनमा आक्रमण गर्नुको एउटा कारण नेटोको विस्तारलाई रोक्ने रहेको बताउँदै आएको छ । सन् १९४९ मा स्थापना भएदेखि नेटोको सदस्य संख्या १२ बाट ३२ पुगिसकेको छ । यसको विस्तार रुसको सिमानातिर पूर्वसम्म पुगिसक्यो । नेटोका ६ वटा सदस्य नर्वे, पोल्यान्ड, फिनल्यान्ड, लात्भिया, इस्टोनिया र लिथुआनियाको सिमाना रुससँग जोडिएको छ । मस्कोले लामो समयदेखि नेटो सदस्यता खोजिरहेको युक्रेनलाई समूहबाट बाहिर राख्न जोड दिँदै आएको छ । ‘अन्यथा, यो समस्याले युरोपेली महादेशको वातावरणलाई विषाक्त बनाइरहनेछ,’ रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले फेब्रुअरी १८ मा भनिन् । युद्धको द्रुत अन्त्यका लागि जोड दिँदै ट्रम्पको प्रशासनले युक्रेनको नेटो सदस्यता ‘यथार्थवादी’ नभएको बताएको छ ।
तर, पश्चिमी युरोपेली राज्य भने रुसको आक्रामक व्यवहारले नेटोलाई बलियो बनाएको मान्छन् । शीतयुद्धको अन्त्य भएपछि पनि विश्वको सबैभन्दा ठुलो आणविक शक्ति रुसले मोल्डोभा, जर्जिया र अहिले युक्रेनसहित नजिकैका धेरै देशमाथि आक्रमण गरिसक्यो । सन् १९९० को दशकको सुरुमा मोल्डोभामा रुसको प्रत्यक्ष सैन्य हस्तक्षेपले रुस समर्थित पृथक्तावादीहरूले ‘ट्रान्सनिस्ट्रिया’मा अलग शासन स्थापना गर्न सके । सन् २००८ मा जर्जियामाथि भएको रुसको तीव्र आक्रमणले टिबिलिसीलाई ठुलो धक्का दियो । त्यसपिछ पश्चिमसँगको सो देशको सम्बन्ध जटिल बनेको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि नेटो थप विस्तार भएको छ । विगत दुई वर्षमा पहिले तटस्थ रहेका फिनल्यान्ड र स्विडेन गठबन्धनमा सामेल भएका छन् ।
कति बलियो छ रुसी सेना ?
रुससँग अहिले कम्तीमा १३.२ लाख सक्रिय सेवारत सैनिक छन् । त्यसमध्ये लाखौँ युक्रेनमा लडिरहेका छन् । मस्कोले पहिलेदेखि नेटो सदस्य पोल्यान्ड र लिथुआनियाको बिचमा रहेको कालिनिनग्रादमा लगभग १२ हजार सैनिक तैनाथ गर्दै आएको थियो । यसको ठुलो हिस्सा युक्रेनमा पुनः तैनाथ गरिएको बताइएको छ ।
विदेशी भूमिमा रुसका दर्जनौँ विदेशी सैन्य आधार छन् । ती मुख्यतः पूर्वसोभियत राज्यहरूमा अवस्थित छन् । सन् २०२४ सम्म बेलारुसमा कम्तीमा दुई रुसी सैन्य आधार थिए । दुईवटा रुसी सैन्य आधार हुने अन्य मुलुक कजाकिस्तान, आर्मेनिया, जर्जिया (त्यहाँको विवादित क्षेत्र दक्षिण ओसेसिया र अब्खाजियामा) हुन् । त्यसबाहेक किर्गिस्तान, ताजकिस्तान, कजाकिस्तान र मोल्डोभाबाट अलग्गिएको घोषणा गरेको ट्रान्सनिस्ट्रियामा एक–एकवटा सैन्य आधार अझै सक्रिय छन् । यी आधारमध्ये सबैभन्दा ठुलो ताजकिस्तानको दुसान्बेमा रहेको २०१औँ सैन्य आधार हो, जहाँ सन् २०२२ मा करिब सात हजार रुसी सैनिक तैनाथ थिए ।
सैन्य सामर्थका हिसाबले रुससँग चार हजार २९२ विमान, पाँच हजार ७५० तोप, ४४९ सैन्य जहाज र एउटा विमानवाहक जहाज रहेको ग्लोबल फायरपावर नामक संस्थाको तथ्यांकले देखाउँछ । रुसी सैन्य क्षमता नेटोको संयुक्त शक्तिको तुलनामा कम हो । ट्रम्पले भनेजस्तै यदि अमेरिका युरोपको सुरक्षाबाट पछि हट्यो भने युरोपले रुसबाट कठिनाइ महसुस गर्नेछ । ‘युरोपेलीहरू ब्युँझनु आवश्यक छ । हामीले सैन्य क्षमतामा गर्ने लगानीले आक्रमणकारी शक्तिलाई गम्भीर सन्देश दिनेछ । तर, हामी कमजोर भयौँ भने उनीहरू झम्टिएर आउनेछन्,’ जनवरी २२ मा युरोप डिफेन्स एजेन्सीको सम्मेलनमा इयुकी विदेश नीति प्रमुख काजा कालासले भनिन् ।
ट्युनिसियामा बस्ने क्विलेन अन्तर्राष्ट्रिय मिडियाका लागि रिपोर्टिङ गर्छन् ।
अल जजिराबाट